
पशुपति आर्यघाटमा जलाउन लागेको शवबाट हड्डी निकालेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ परेका दुवैजना पशुपतिमा शव जलाउने काम गर्छन् । पक्राउ पर्नेमा शव जलाउने कार्यमा संलग्न गणेश ढकाल र उनका एक सहयोगी छन् ।
मृतकका आफन्तको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । मृतकका परिवारजनले नै आरोपीहरूलाई रंगेहात पक्राउ गरी प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार, घाटमा शव जलाउने काम गर्ने ढकालले आफ्ना सहयोगीलाई शाहीको जलिरहेको शवबाट निकालिएको मासु र हड्डी प्याक गर्न लगाइरहेको अवस्थामा मृतकका आफन्तले देखेका थिए ।
सोही क्रममा मृतकका परिवार र आरोपीबीच विवाद र भनाभन भएको थियो । तत्कालै परिवारले गौशाला प्रहरीलाई घटनाबारे जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । पछि मृतकका परिवारले आरोपीहरूविरुद्ध औपचारिक जाहेरी दिएका थिए ।
काभ्रेको बनेपाका राम शाहीको शवबाट मासु र हड्डी निकालिएको आरोप आफन्तले लगाएका हुन् ।