
पब्लिक स्पिच नेपाल २०८२ संघीय राजधानी काठमाडौंमा हुने भएको छ । युवाहरुको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, वाक क्षमता प्रस्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका विजेताहरुलाई प्रोत्साहित गर्नेलगायत उद्देश्य राख्दै बास नेपालले राष्ट्रव्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो ।
बासले गत वर्षदेखि पब्लिक स्पिच गर्न थालेको हो । यसअघि बाँकेलगायत जिल्लामा पब्लिक स्पिच प्रतियोगिता गर्दै आएको थियो ।
बासका अनुसार पब्लिक स्पिच नेपाल तीन चरणमा हुनेछ । अडिसन, सेमिफाइनल र फाइनल राउन्डमा हुने प्रतियोगिताका लागि देशैभरबाट इच्छुकले सहभागिता जनाउन सक्नेछन् । बासका सूचना अधिकारी हेमराज भट्टका अनुसार इच्छुक सहभागीले भदौ १० गतेभित्र नाम दर्ता गरिसक्नु पर्नेछ । भदौ १३ गतेभित्र आफूले बोलेको सार्वजनिक वक्तव्यको श्रव्यदृश्य बास नेपाललाई उपलब्ध गराउनुपर्नेछ ।
अडिसन राउन्डबाट छानिएका सहभागी सेमिफाइनलमा प्रवेश गर्नेछन् सेमिफाइनल भदौ २० गते हुनेछ । सेमिफाइनलबाट छनोट भएका सहभागी फाइनल राउन्डमा प्रवेश गर्नेछन् । फाइनल राउन्ड भदौ २९ गते काठमाडौंमा हुने बासका निर्देशक नमस्कार शाहले जानकारी दिए ।
यसरी फाइनलबाट पब्लिक स्पिच नेपाल २०८१ मा प्रथम स्थान हासिल गर्नेले नगद ५० हजार, द्वितीय स्थान प्राप्त गर्नेले ३० हजार र तृतीय स्थान प्राप्त गर्नेले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
गत वर्षको प्रतियोगितामा पूर्वअर्थ सचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचारविरुद्धका अभियन्ता केदार खड्का, मदन पुरस्कार विजेता साहित्यकार नवराज लम्साल, नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनीता विन्दु र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव नीरा अधिकारी सदस्य रहेको निर्णायक समितिले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
गत वर्ष देशैभरबाट २०० बढी सहभागीले सहभागिता जनाएका थिए । अडिसन राउन्डबाट १०३ जना सेमिफाइनल राउन्डका लागि छनोट भएका थिए । सेमिफाइनल राउन्डबाट १६ प्रतियोगी फाइनल राउन्डमा प्रवेश गरेका थिए ।
पब्लिक स्पिच नेपाल २०८१ मा दैलेखका दिलबहादुर भण्डारी विजेता बनेका थिए । धरानकी सुशीला धमाला द्वितीय र कपिलवस्तुकी गंगा घिमिरे तृतीय भएका थिए ।