
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियन भाषा परीक्षाका लागि आजदेखि आवेदन दिन पाइने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले सोमबार सूचना जारी गर्दै भाषा परीक्षाका लागि आवेदन माग गरेको हो । आज सोमबारदेखि बिहीबारसम्म आवेदन दिने म्याद तोकिएको छ ।
यसपटकको भाषा परीक्षाबाट अनुमानित ५३ सयजना उत्तीर्ण हुनेछन् । जसअन्तर्गत उत्पादनमूलक क्षेत्रमा ३५ सय र कृषि तथा पशुपालन क्षेत्रमा १८ सय जना उत्तीर्ण गरिनेछ ।
यो संख्यामा केही थप घट हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
परीक्षाको मिति भने पछि प्रकाशित गरिनेछ । परीक्षा एक दिनमा बढीमा ५ सिफ्टमा सञ्चालन हुनेछ । आवेदन संख्याका आधारमा र अन्य कुनै कारण आइपरेमा परीक्षा तालिका फेरबदल हुन सक्ने पनि ईपीएस शाखाले जनाएको छ ।
भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीले दोस्रो चरणको सीप तथा प्रतिस्पर्धा क्षमता परीक्षणमा पनि उत्तीर्ण भएपछि मात्रै रोजगार आवेदन फाराम भर्न सक्नेछन् । दोस्रो चरणको परीक्षासम्बन्धी जानकारी प्रथम चरणको परीक्षाको नतिजापछि सार्वजनिक गरिनेछ ।
आवेदन दिन १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिक हुनुपर्ने प्रावधान छ । भाषा परीक्षाका सबै केन्द्र काठमाडौंमै रहनेछन् ।
