
सुनसरी, साउन २६ :
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलस्थित पूर्वपश्चिम राजमार्गमा दुई सवारी साधन ठोक्किँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ । २३ जना घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएका २७ जनामध्ये चार जनाको उपचारको क्रममा मृत्यु भएको हो । मृतकमध्ये तीन जनाको भने पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा सप्तरी मधावे गाउँपालिका– ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल र सुनसरीको कोशी गाउँपालिका– ६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगरका अशोक यादव रहेका छन् । मृतक एक महिलाको भने पहिचान खुलेको छैन ।
झापाको काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको विङ्गर माइक्रो सोमबार बिहान ठोक्किएको थियो ।
