
पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बैंक जमानतमा छाड्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।
न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले यस्तो आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी अभियोगमा लामिछाने गत चैत २५ देखि रुपन्देही कारागारमा छन् ।
उनले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको तर्क गर्दै आफ्नो भागको बिगो बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत लिएर रिहा गर्न माग गर्दै जिल्ला अदालत रुपन्देहीमा यही साउन १९ गते निवेदन दिएका थिए ।
सुप्रिम सहकारी ठगीमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्चको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।
