
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलले श्रीमानले न्याय नपाएसम्म लडिरहने बताएकी छन्।
जिल्ला अदालत रुपन्देही सोमबार रविलाई थुनामै राख्न आदेश दिएसँगै उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू नथाकेको लडिरहने बताएकी हुन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम हिनामिनाको आरोपमा लामिछाने करिब चार महिनादेखि रुपन्देही कारागारमै रहेका छन् ।
उनले लामिछानेसँगको तस्बिर राख्दै सरकारले प्रतिशोध साँधेको र न्याय नपाएसम्म लडिरहने बताइन्। 'म थाकेकी छैन, हारेकी छैन। संविधानले दिएको हरेक अधिकारमा टेकेर लड्छु,' उनले भनेकी छन् ।
लामिछानेले बिगो दाबी गरिएको मध्य आफ्नो भागमा पर्न आउने रकम बुझाएर थुनामुक्त गर्न मागसहित निवेदन दिएका थिए। तर सोमबार न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेको मागबमोजिम नहुने आदेश गरेको छ। लामिछानेले बिगो दाबी बराबरको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बैंक ग्यारेन्टी बुझाइसकेका थिए।
उनी विरूद्ध कास्की, काठमाडौँ, चितवन र पर्सामा पनि सहकारी ठगीका मुद्दा विचाराधीन अवस्थामा छन्। त्यसो त उनीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा पनि दायर भएको छ।