
माओवादीनिकट अखिल क्रान्तिकारीले रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरी क्षति पुर्याएका छन् । धर्नामा बसेका विद्यार्थीले रेक्टर र रजिस्ट्रार कार्यालयमा तोडफोड गरेर सिसाहरु फुटाएका छन् । त्यसक्रममा विद्यार्थी र प्रहरीबीच झडपसमेत भएको छ ।
झडपका क्रममा त्रिवि जिल्ला इन्जार्च ममता जोशी र सुशील नेपाली घाइते भएका छन् । क्रान्तिकारी अखिल त्रिविका कार्यवहाक अध्यक्ष शिवराज भट्टले प्रहरीले बल प्रयोग गर्दा कार्यालयमा क्षति पुगेको बताए
त्रिभुवन विश्वविद्यालयमा दीपक अर्याल उपकुलपति नियुक्त भएर जिम्मेवारी सम्हालेदेखिनै उनीहरुले अर्यालसहित, रेक्टर खड्ग केसी र रजिस्ट्रार केदार रिजाललाई कार्यालय आउजाउमा अवरोध गर्दै आएका छन् । कार्यकक्षको ढोकामा नै धर्ना दिएपछि उपकुलपति अर्याल कार्यालय आउनै छाडेका छन् ।
शुल्क घटाउन माग राख्दै क्रान्तिकारीले २० दिनदेखि उपकुलपति कार्यालयमा धर्ना दिँदै आएको छ । क्रान्तिकारीले अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, द्वन्द्व–शान्ति र विकास अध्ययन, सामाजिकशास्त्र र लैंगिक केन्द्रीय विभागको शुल्क समायोजन गर्नुपर्ने माग अघि सारेको छ ।