
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा सबै किसिमका बेथिति र अन्याय निरुपण हुने उपाय भनेकै विधिको सही कार्यान्वयन भएको बताएका छन् ।
नेपाल कानुन व्यवसायी परिषद्को ३२औं स्थापना तथा आत्ममूल्यांकन दिवसका अवसरमा भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा आयोजित कार्यक्रममा उनले विधिसम्मत न्यायिक प्रणालीबाट मात्रै देशमा सुशासन र अमनचयन कायम हुन्छ भन्ने कुरालाई बिर्सन नमिल्ने बताए । ‘विधिको पूर्ण पालना गरी न्यायपूर्ण रितिथिति बसाल्न कानुन व्यवसायीबाट मुलुकले सदैव सकारात्मक योगदानको अपेक्षा गरेको हुन्छ,’ उनले भने ।
राष्ट्रपति पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला भएको बताउँदै जहाँसुकैका जोकोही भए पनि कानुन व्यवसायीहरू विधिको शासन र लोकतन्त्रका रक्षक हुने स्पष्ट पारे । नेपालमा लोकतन्त्रको स्थापना र पुन:स्थापनामा कानुन व्यवसायीले पुर्याएको योगदानको सराहना गर्दै यसको सुदृढीकरणमा अझै प्रभावकारी भूमिका रहने उनले विश्वास व्यक्त गरे ।
राष्ट्रपति पौडेलले नागरिकको छिटो, सहज र सरल तरिकाले न्याय पाउने हकलाई साकार रुप दिन क्रियाशील हुने यो संवेदनशील भूमिकालाई अझ प्रभावकारी, मर्यादित र उच्च व्यावसायिक तवरले निर्वाह गर्न सक्षम कानुनी जनशक्ति आवश्यक पर्ने बताए । उनले परिषद्ले आधुनिक समयको माग र जनचाहनाअनुरुप यस प्रकारको उच्च व्यावसायिक दक्षता, नैतिकता एवं यस क्षेत्रका मूल्यमान्यता र जवाफदेहिता वहन गर्ने कानुन व्यवसायी तयार गर्नुपर्ने गुरुत्तर दायित्व निर्वाहमा कुनै कसर बाँकी राख्दैन भन्नेमा आफू विश्वस्त रहेको धारणा पनि राखे ।
परिषद्ले कानुन व्यवसायीको इजाजत प्राप्तिका लागि लिने परीक्षाको पाठ्यक्रम र गुणस्तरीयताले पनि कानुन व्यवसायीको क्षमतालाई सिधै प्रतिबिम्बित गर्ने भन्दै व्यावसायिक आचरणको अक्षरशः पालनाले यो पेसाको मर्यादा अभिवृद्धि गर्ने उनको भनाइ छ । यसको पालना भए/नभएको निरन्तर निगरानी गर्नेतर्फ परिषद् सचेत र चनाखो रहनुपर्ने पनि राष्ट्रपति पौडेलले सुझाए ।