
मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यविरुद्ध आरोप पत्र दर्ता भएको छ ।
चाँगुनारायण नगरपालिकास्थित १४ रोपनी ४ आना जग्गालाई मोहीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि २४ लाख ५० हजार घुस माग गरेको आरोपमा प्रमुख आचार्य र कार्यालय सहयोगी टीकाराम राउतविरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो।
टङ्गालबाट खटिएको अख्तियारको टोलीले सेवाग्राहीबाट उजुरीका आधारमा अनुसन्धान गर्दै उक्त कार्यालय परिसरबाट दुवै जनालाई सो रकमसहित नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनीहरूद्वारा साविक चाँगुनारायण गाविस वडा नं. ५ ख स्थित १४–४–०–० क्षेत्रफलको जग्गामा मोही बाँडफाँड-नामसारीका लागि सहज वातावरण बनाइदिने बहानामा सेवाग्राहीसँग मिलेमतोमा घुस माग गरिएको पुष्टि भएको आयोगको ठहर छ।
अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार उनीहरूलाई भ्रष्टाचार निवारण ऐनबमोजिमको कसुरमा मुद्दा दायर गरिएको हो। उनीहरूलाई उक्त ऐन अनुसार कैद र बिगो अनुसार जरिवानाको मागदाबी गरिएको छ।