काठमाडौं, साउन २८ :

द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीविरुद्ध रिट दायर गरेका छन् ।

सरकारले गरेको नियुक्तिमा दलीय भागबण्डा भएको र अयोग्य व्यक्तिहरुलाई छानिएको भन्दै पीडितहरुले बुधबार रिट दर्ता गरेका हुन् ।

न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले रिटविरुद्धको दरपीठ आदेश बदर भएसँगै नयाँ रिट दर्ता गरिएको रिट निवेदक गीता रसाइलीले बताइन् ।यसअघि सर्वोच्च प्रशासनले उक्त रिट दरपीठ (दर्ता गर्न अस्वीकार) गरेको थियो ।

सरकारबाट संविधान र ऐनको प्रावधानविपरीत दुवै आयोगमा नियुक्ति भएको जनाउँदै बदर हुनु पर्ने माग राखी ३३४ जना द्वन्द्वपीडितहरुले रिट दायर गरेका हुन् ।पीडितहरुले उक्त नियुक्ति खारेज गर्न माग गरेका छन् ।