
बाँकेको नेपालगन्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको टोलीले मंगलबार राति नेपालगन्ज १४ का २८ वर्षीय रमेश लोनियाको घर खानतलासी गरिएको थियो । त्यस क्रममा नेपाली र भारतीय गरी २२ लाख तीन हजार ९१५ रुपैयाँसहित ब्राउनसुगर बरामद गरिएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।
यस्तै उनको घरबाट सुनचाँदीका विभिन्न गरगहना, पाँच थान खुकुरी, दुई थान मोटरसाइकल र १० वटा मोबाइल पनि बरामद गरेको छ । घटनामा अवरोध सिर्जना गर्न खोजेका चार जनालाई पनि पक्राउ गरिएको र तीमध्ये दुईलाई प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा हिरासतमा लिइएको प्रहरी नायब उपरीक्षक पातलीले जानकारी दिए ।