काठमाडौं, साउन २९ :

काठमाडौं महानगरपालिकाले भ्रामक विज्ञापनसहित अनुचित व्यापारिक क्रियाकलाप नगर्न उद्योगी, व्यवसायीलाई सचेत गराएको छ ।

महानगरले आज सूचना जारी गर्दै जुत्ता, लत्ताकपडाजस्ता आधारभूत र दैनिक आवश्यकताका वस्तु तथा सामान बिक्रीका लागि भ्रामक विज्ञापन हुने गरेको जनगुनासो आएको भन्दै त्यसो गरेको पाइए कारबाही हुने चेतावनी दिएको हो ।

‘झुटो प्रचार र ब्रान्डको दुरुपयोग गरेर अनुचित तथा अनधिकृत व्यापारिक क्रियाकलाप भइरहेको गुनासोप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘उद्यमी तथा व्यवसायीलाई वस्तु तथा सामान बिक्री-वितरण गर्दा व्यापारिक आचारण पालना गर्न र उपभोक्तालाई भ्रामक सूचनाको पछाडि नलाग्न आग्रह गर्दछौं ।’