काठमाडौं, साउन ३० :

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आर्थिक वर्ष ०८१/८२ मा गरेका कामसहितको वार्षिक प्रतिवेदन पेस गरेको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष आयोगका कार्यवाहक अध्यक्ष मोहम्मदिन अलीले प्रतिवेदन पेस गरे ।

त्यसअवसरमा राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए ।

‘देशको सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्यता कायम गरी समानता एवं सहअस्तित्वका आधारमा विभिन्न जातजाति र समुदायको भाषा, लिपि, संस्कृति, साहित्य, कला र सम्पदाको संरक्षण र विकास गर्ने राज्यको सामाजिक र सांस्कृतिक रुपान्तरणसम्बन्धी नीति रहेको छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले मुस्लिम आयोगको जिम्मेवारी र दायित्व गहन रहेको र आगामी दिनमा आयोगले यो दायित्व अझ प्रभावकारी ढंगले निर्वाह गर्ने विश्वास व्यक्त गरे ।