
राष्ट्रिय सभा बैठकमा ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
बैठकमा प्रधानमन्त्री केपी ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरे ।
यस्तै बैठकमा राष्ट्रिय सभा सचिव सुरेन्द्र अर्यालले ‘सातवटै प्रदेशस्तरमा आयोजित निर्वाचन मण्डलसँगको समन्वय बैठकको एकीकृति प्रतिवेदन’ टेबल गरे । राष्ट्रियसभाद्वारा २०८२ जेठ ११ र १२ गते सातै प्रदेशका सांसद, स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितको निर्वाचन मण्डलको बैठकमा समावेशी प्रतिनिधित्व, व्यवस्थापकीय रुपमा समन्वयात्मक, सहकार्य र सहअत्विका आधारमा छलफल भएको थियो ।
समन्वय बैठकले राष्ट्रियसभालाई कानुन बनाउने मात्र नभई प्रदेश र स्थानीय तहको आवाजलाई संघीय सरकारसम्म पुर्याउने यन्त्रका रुपमा हेरेको उनले जानकारी दिए । सचिव अर्यालले सातै प्रदेशका सुझावलाई लिएर प्रतिवेदन तयार गरिएको जानकारी दिए ।
संघीयता कार्यान्वयन र सवलीकरणका लागि यो बैठकले महत्त्वपूर्ण योगदान पुर्याएको तथा यसले आगामी दिनमा कानुन निर्माणमा समेत सहज हुने सचिव अर्यालले जानकारी दिए ।