काठमाडौं, साउन ३० :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच ऐतिहासिक मित्रता, आपसी विश्वास र सहकार्य रही आएको बताउँदै आगामी दिनमा यसलाई थप प्रगाढ बनाउनुपर्ने उल्लेख गरेकी छन् ।

भारतको ७९औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालस्थित भारतीय राजदूतावासद्वारा शुक्रबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भारत-नेपालको एक असल छिमेकी राष्ट्रका रुपमा रहेको भन्दै दुई देशबीचको सदियौँ पुरानो सम्बन्धका विविध आयामका बारेमा चर्चा गरिन् ।

भारतको आर्थिक विकासको असाधारण यात्राको प्रशंसा गर्दै मन्त्री राणाले व्यापार, प्रविधि, पूर्वाधार र जनस्तरका आकांक्षाहरुमा दुई देशले संयुक्त सहकार्य विस्तार गरेर अघि बढ्ने पनि बताइन् । नेपाल-भारत सम्बन्ध केवल भौगोलिक सीमामा सीमित नरही हिमाल, नदी तथा प्राचीन सभ्यताको साझा ज्ञानले जोडिएको र दुई देशबीचको साझा संस्कृति र जनस्तरको सम्बन्धले त्यसलाई अटुट बनाएको पनि उनले बताइन् ।

राणाले जलवायु परिवर्तन, दिगो विकास र साझा चुनौतीहरूको समाधानमा दुई देशबीचको सहकार्य आगामी दिनहरुमा अझ आवश्यक रहेकामा पनि जोड दिइन् । यसअघि आजै परराष्ट्रमन्त्री राणाले भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत भारत र भारतीय जनताप्रति स्वतन्त्रता दिवसको हार्दिक बधाई ज्ञापन गर्दै नेपालले भारतसँगको दीर्घकालीन र दिगो साझेदारीलाई उच्च सम्मानका साथ मूल्यांकन गरेको बताइन् ।