
प्रधानमन्त्री केपी ओलीले जनताको शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरीलाई शासक नभई जनताको सेवक भएर काम गर्न निर्देशन दिएका छन् ।
उनले शुक्रबार जनकपुरमा मधेस प्रदेश प्रहरी कार्यालयको नवर्निमित भवनको उद्घाटनपश्चात आयोजित समारोहमा यस्तो निर्देशन दिए । मुलुकमा सुशासन तथा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरी हाकिमको भूमिका होइन, जनताको सेवकको भूमिकामा काम गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।
कसैलाई जोरजबर्जस्तीबाट फसाउने काम नहोस् न्यायोचित हिसाबले प्रहरीबाट काम हुनुपर्ने उल्लेख गर्दै उनले राणा शासन तथा राजाको पञ्चायती व्यवस्थामा जस्तो कसैलाई फसाउने तथा यातना दिने काम नहोस् भने । उनले भने, ‘त्यस समयमा शासनसत्ता जोगाउन झुटो आरोप लगाउने कार्य हुन्थ्यो । अहिले मुलुकमा केही तत्त्वहरूले अराजक फैलाउने कार्य गरिरहेको तथा आफूलाई नयाँ शक्तिको भ्रम फैलाउने तथा देशमा अराजक गतिविधिको काम गरेकाले त्यसबाट सतर्क एवं सजग हुनुपर्छ ।’
समाजमा अराजक फैलाउने तत्त्वहरूको मुलुकमा लोकतन्त्र ल्याउन कुनै योगदान नरहेकोसमेत विचार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले झुटो बोल्ने तत्त्वहरूलाई समाज तथा राष्ट्रले सजाय दिनुपर्नेमा जोड दिए । उनले जनताको ठुलो त्याग, तपस्या तथा बलिदानीबाट मुलुकमा लोकतन्त्र आएकाले लोकतन्त्रको सुरक्षा तथा दिगो बनाउन सम्पूर्ण लोकतान्त्रिक शक्तिहरू लाग्नुपर्ने बताए ।
‘सेनाले राष्ट्रको सुरक्षा गर्ने काम गरिरहेको छ, त्यस्तै नेपाल प्रहरीले आफ्नो योग्यता तथा दक्षताको माध्यमबाट जनतालाई इमानदारीपूर्वक जनताको सुरक्षा तथा सेवा गर्नुपर्छ,’ उनले भने । देशमा बढ्दो आपराधिक क्रियाकलाप, चोरी र डकैती, लागुऔषधको प्रयोग तथा सीमा क्षेत्रमा हुने विभिन्न चोरी, तस्करी, अवैध रूपमा हुने मानव ओसारपसार रोक्न तथा राजस्व चुहावट नियन्त्रण गर्न चुनौती भएकाले त्यसलाई रोक्न प्रहरी सङ्गठन इमानदारीसाथ लाग्नुपर्नेमा उनको जोड थियो ।
प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस तथा नेकपा एमालेको संयुक्त प्रयासबाट निर्माण भएको वर्तमान सरकारले देशमा स्थिरता तथा शान्ति सुरक्षा एवं सुशासन दिने उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण गर्ने र जनतालाई छिटोछरितो रूपमा सेवा दिनेतर्फ प्रहरीले जोड हुनुपर्ने उनको भनाइ छ । उनले नेपाल प्रहरीलाई समयसापेक्ष भौतिक सुविधाले सम्पन्न गराउनेतर्फ मधेस प्रदेश सरकारले यो भवन निर्माण गरेकामा खुसी व्यक्त गरे ।