काठमाडौं, साउन ३१ :

 

अंकोरेज,अलास्का

लडाकु विमान,रातो कार्पेट र भित्तामा टाँसिएको  "शान्तिको खोजी” नारा सहित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अलास्कामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरे।

तर आकस्मिक रूपमा अन्त्य भएको शिखर बैठकको परिणाम भने अझै अस्पष्ट रह्यो। शिखर बैठकमा युक्रेन युद्धबारे कुनै सम्झौता हुन सकेन ।

झण्डै तीन घण्टा लामो वार्तापछि दुवै नेताले प्रगति भएको दाबी गरे। तर उनीहरूले के हासिल गरे भन्ने स्पष्ट नगरी निर्धारित पत्रकार सम्मेलन गरेर बाहिरिए।

ट्रम्पले चाहेको युद्धविराम पनि वास्तविकता भन्दा  टाढै देखियो किनभने उनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई सम्झौता गर्न आग्रह गरे।

“सम्झौता नभएसम्म सम्झौता छैन”

पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भने "हामी धेरै बुँदामा सहमत भयौं । केही ठूला बुँदा भने बाँकी छन्। तर केही प्रगति भएको छ।” उनले थपे “सबैभन्दा महत्त्वपूर्ण एउटा बुँदामा अझै पुगेका छैनौं,तर त्यहाँ पुग्ने राम्रो सम्भावना छ।”

तर दुबै नेताले पत्रकारहरूसँग प्रश्नोत्तर नगरी केवल वक्तव्य पढे र मञ्च छाडे । पुटिनले पनि वार्तालाई सकारात्मक रूपमा चित्रण गरे ।

यसरी आकर्षक तर परिणाम विहीन शिखर बैठकले स्पष्ट रूपमा पुटिनलाई फेरि कूटनीतिक दायरामा स्वागत गरेको जस्तो देखायो।

तर बैठक सुरु हुना साथै ट्रम्पको कार्य कति कठिन हुने हो भन्ने संकेत देखियो। ठीक त्यही बेला जब अंकोरेजको एयर बेसमा दुई राष्ट्रपति हात मिलाउँदै थिए, युक्रेनमा रूसी ड्रोन र विमानका चेतावनी बजिरहेका थिए।

प्रगति तर कुनै सम्झौता छैन

दुवै नेताले अस्पष्ट तर सकारात्मक विवरण दिएका छन् ।ट्रम्पले भने “हामीले निकै उत्पादनशील बैठक गर्यौं। धेरै बुँदामा सहमति भयो। केही धेरै महत्त्वपूर्ण छैनन्। एउटा भने सबैभन्दा महत्त्वपूर्ण हो। त्यहाँ पुग्न सकेनौं तर त्यहाँ पुग्ने राम्रो सम्भावना छ।” फक्स न्युजसँगको अन्तर्वार्तामा उनले युक्रेनलाई भूमिगत रक्षात्मक ग्यारेन्टी र रसियालाई भू–भाग दिने सम्भावनाबारे प्रश्नमा जवाफ दिंदै भने: “यी बुँदा वार्तामा आएका छन् र प्रायः सहमति भएको छ।”  तर उनले जोड दिए: “युक्रेनले यसमा सहमत हुनैपर्छ।”
जेलेन्स्कीलाई सल्लाह के दिन्छन् भन्ने प्रश्नमा ट्रम्पले भने “सम्झौता गर्नैपर्छ।”

सम्भावित पुटिन–जेलेन्स्की बैठकमा ट्रम्पको उपस्थिति

अन्तर्वार्तामा ट्रम्पले भने “दुवैले मलाई त्यहाँ चाहन्छन्, म त्यहाँ हुने छु।”

तर संयुक्त पत्रकार सम्मेलनमा उनले जेलेन्स्कीसँग त्रिपक्षीय बैठकबारे केही भनेनन् । उनले केवल “उचित मानिएका व्यक्तिहरू” सँग फोनमा कुरा गर्ने बताए, जसमा जेलेन्स्की पनि पर्छन्।

पुटिन फेरि ‘शीत’बाट भित्र

ट्रम्पको लिमोजिनको झ्यालबाट मुस्कुराउँदै हेर्ने पुटिनको अनुहारले नै सब थाहा दियो। पश्चिमी अलगावका वर्षपछि उनी फेरि विश्वको शक्तिशाली मुलुकमा स्वागत भएका थिए।

उनको अमेरिकामा अन्तिम भ्रमण १० वर्षअघि थियो। २०२२ मा युक्रेन आक्रमणपछि उनी पश्चिमी नेताहरूबाट बहिष्कृत भएका छन् ।  इन्टरनेशनल क्रिमिनल कोर्टले त गिरफ्तारी वारेन्ट नै जारी गर्‍यो। अमेरिका आईसीसी सदस्य नभएकाले अलास्का बैठकको स्थानका लागि सहज मानिएको थियो।

तर अंकोरेजमा उनको विमान अवतरणसँगै अलगाव अन्त्य भयो। रातो कार्पेट, लडाकु विमानको फ्लाइओभर र ट्रम्पको तालीसहित उनको स्वागत गरियो। रूसी राज्य टेलिभिजनले यसलाई “ऐतिहासिक हस्तमिलान” भनेर वर्णन गरेको छ ।

एक–एकको बैठकमा अचानक सहयोगी थप

पहिले एक–एक बैठक हुने भनिएको भए पनि अन्तिम क्षणमा दुवै नेतासँग दुई–दुई सहयोगी सहभागी गराइयो। अमेरिकी तर्फबाट विदेशमन्त्री मार्को रुबियो र विशेष दूत स्टिभ विटकफ थिए।

एउटा छोटो पल एयर बेसबाट बैठक कक्षसम्मको लिमोजिन यात्रा ट्रम्प र पुटिनकै बीच रह्यो  । त्यसमा उनीहरूसँग केवल सीक्रेट सर्भिस एजेन्ट थिए । सल्लाहकार वा अनुवादकसमेत थिएनन्।

त्यसैले त्यो छोटो संवादको विवरण केवल उनी दुईलाई मात्र थाहा छ।

युद्ध जारी           

बैठक भइरहेका बेला नै युक्रेनमा रूसी ड्रोन आक्रमणबारे चेतावनी बजिरहेको थियो, जसले युद्ध अन्त्य गर्ने मार्ग कठिन रहेको देखाएको छ ।