
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा कारागारबाट आजै ललितपुरको नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ। अदालतको निर्देशनअनुसार कारागार व्यवस्थापन विभागले रुपन्देही कारागारलाई पत्राचार गरी स्थानान्तरणको प्रक्रिया अघि बढाएको हो।
कारागार व्यवस्थापन विभागका महानिर्देशक लीलाप्रसाद शर्माका अनुसार लामिछानेको निवेदनका आधारमा उनलाई नख्खु सार्ने निर्णय गरिएको हो। लामिछानेले रुपन्देही कारागारको कोठा साँघुरो रहेको, ताजा हावा नपाउने अवस्था रहेको र पार्टी नेतासँग भेटघाट गर्न अप्ठ्यारो भएको भन्दै कारागार परिवर्तनको माग गरेका थिए।
यसअघि लामिछानेले ठगी मुद्दामा थुना बाहिरै बसेर मुद्दा लड्न पाउने व्यवस्था होस् भनी अदालतमा निवेदन दिएका थिए, तर अदालतले त्यो निवेदन अस्वीकार गरेको थियो। धरौटीमा रिहा नहुने भएपछि उनलाई स्थानान्तरणको प्रक्रिया अघि बढाइएको हो।
लामिछाने बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा केही महिनादेखि थुनामा छन्। यसबाहेक काठमाडौं, पोखरा, चितवन र वीरगन्जमा समेत उनीविरुद्ध सहकारीसम्बन्धी ठगी मुद्दा विचाराधीन अवस्थामा छन्।