धनगढी, साउन ३१ :

निर्वाचन आयोगले रञ्जिता श्रेष्ठलाई अध्यक्ष मान्य गरेपछि नागरिक उन्मुक्ति पार्टी (नाउपा)भित्रको विवाद चुलिँदै गएको छ। अध्यक्ष रञ्जितालाई स्वीकार गर्न नसक्ने भन्दै संरक्षक रेशम चौधरी समूह बेग्लै पार्टी गठनको तयारीमा जुटेको छ।

रेशम पक्षले राष्ट्रिय भेला गरेर रञ्जितालाई साधारण सदस्यबाट हटाउँदै लालवीर चौधरीलाई अध्यक्ष घोषणा गरेको थियो। तर आयोगले भेला अवैधानिक भन्दै रञ्जितालाई नै अध्यक्ष मान्यता दिएको छ। त्यसपछि रेशम समूह आन्तरिक छलफलमा जुटेको छ।

रेशमले नाउपामा अब अघि बढ्न नसकिने बताउँदै नयाँ विकल्प खोज्ने बताएका छन्। अध्यक्षको लागि रामलाल डगौरा र गंगाराम चौधरी पनि इच्छुक भए पनि अन्ततः रेशमले आफ्ना बुवालाई अध्यक्ष बनाएका थिए, जसले उनलाई परिवारवादको आरोपमा ल्याएको छ।

नाउपाको राष्ट्रिय भेलामा २१ मध्ये १३ जना केन्द्रीय सदस्य रेशम पक्षमा थिए। रञ्जिता पोखराको लिचीघारी जग्गा प्रकरणमा मुछिएपछि विवाद थप चर्किएको हो।

उता, कार्यवाहक अध्यक्ष शिव बास्तोला र अन्य नेताहरुले विधानअनुसार महाधिवेशनसम्म कुर्नुपर्ने बताउँदै तत्काल विभाजनमा नजान सुझाव दिएका छन्। तर दुवै समूहबीचको गहिरो अविश्वासका कारण पार्टी एकताको सम्भावना न्यून देखिएको छ। राजनीतिक पण्डितहरुले नाउपा अब विभाजनतर्फ उन्मुख भएको आकलन गरेका छन्।