काठमाडौं, साउन ३१ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ । उनलाई भैरहवाबाट जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट प्रहरीको भ्यानमा नक्खु कारागार लगिएको हो ।

कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।  

सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थित भएका थिए । भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थलस्थित आयल निगमको बाटो भएर नक्खु लगिएको हो ।  

उनले त्यहाँ भेला भएका पार्टीका सांसद, नेता-कार्यकता र समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए । कारागार अगाडि भेला भएका उनका समर्थक र कार्यकर्ताले पक्षमा नाराबाजी गरेका थिए । उनको स्वागतमा पार्टीका सांसद, तथा नेताहरू पनि  नख्खु पुगेका थिए । नख्खु कारागार सुरक्षाकर्मीको पनि बाक्लो उपस्थित थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ देखि रुपन्देही कारगारमा थिए ।