काठमाडौं, भदौ १ :

भारतीय विदेश सचिव विक्रम मिस्री दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौँ आईपुगेका छन् ।  सचिव मिस्री विशेष विमान मार्फत् आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिने बताईएको छ ।  साथै भारत भ्रमणको एजेन्डाको विषयमा पनि छलफल गर्ने परराष्ट्र स्रोतले बताएको छ ।

प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेटघाट हुने र  त्यसक्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गर्ने बताईएको छ ।

त्यसपछि उनले आज नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्नेछन् ।  विदेश सचिव मिस्रीले आज नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्ने पनि कार्यक्रम रहेको छ ।

त्यसैगरी परराष्ट्र सचिव अमृतबहादुर राइसँग द्विपक्षीय भेटवार्ता गर्ने र अपराह्न ५ बजे परराष्ट्रमन्त्री डा आरजु देउवासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । त्यसपछि साँझ उनको सम्मानमा परराष्ट्र सचिव राइले रात्रिभोजको आयोजना गरेका छन् ।

विदेश सचिव मिस्री भोलि अपराह्न  स्वदेश फर्कनुहुने कार्यक्रम छ ।