काठमाडौं, भदौ १ :

नेसनल ओपन स्काउट क्र्यूले आयोजना गरेको आठौं फ्रेन्डसिप लन्च हाइक सम्पन्न भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकामा रहेको दिव्यश्री एकेडेमी, महाकवि देवकोटा मेमोरियल मावि, कान्ति भैरव मावि र ओरेन्टल एकेडेमीका स्काउट विद्यार्थीको सहभागितामा भक्तपुरको नीलबाराहीमा एकदिने फ्रेन्डसिप लन्च हाइक भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल स्काउटका पूर्वप्रमुख आयुक्त रविन दाहालको उपस्थिति थियो । उनले यस्ता कार्यक्रमले स्काउटमा सहभागी विद्यार्थीको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा सहयोग पुग्ने बताए । साथै उनले भने, स्काउटको माध्यमबाट विद्यार्थीले केवल शैक्षिक ज्ञान मात्र नभई जीवनपयोगी सीप, आत्मनिर्भरता र आपसी सहकार्यको महत्त्व पनि सिक्छन् । यस्तो हाइकले उनीहरूलाई प्रकृतिसँग नजिक बनाउने र कठिन परिस्थितिमा पनि आत्मविश्वासका साथ अघि बढ्न सिकाउने अवसर दिन्छ ।

कार्यक्रममा विशेष अतिथि महाकवि देवकोटा मेमोरियल माविका प्राचार्य एवं शिक्षाविद् रमेश शर्माले विद्यार्थीलाई व्यवहारिक जीवन सीपमा अभ्यस्त बनाउन स्काउट कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको बताए । उनले भने, ‘आजको पुस्ता केवल पुस्तकमा सीमित नभई व्यवहारिक सीप र सामाजिक मूल्यमा पनि दक्ष हुनुपर्छ । स्काउटका यस्ता कार्यक्रमले विद्यार्थीलाई जिम्मेवार नागरिक बन्ने बाटो खोल्छन् र सहकार्य, अनुशासन र सेवा भावको भावना जागृत गराउँछन् ।’

दिव्यश्री एकेडेमीका प्रिन्सिपल ज्ञानेन्द्र चौलागाईंले पनि स्काउट कार्यक्रमप्रति प्रशंसा गरे । उनले भने, ‘विद्यालयमा पढाइसँगै यस्ता अतिरिक्त गतिविधि अनिवार्य हुनुपर्छ । यसले विद्यार्थीलाई आफ्नो क्षमता चिन्न, सहकार्यमा रमाउन र भविष्यमा जिम्मेवारीपूर्वक समाजलाई योगदान दिन प्रेरणा दिन्छ । विशेषगरी स्काउटले सिकाउने आत्मनिर्भरता र नेतृत्व कौशलताले  विद्यार्थीको जीवन उपयोगी हुन्छ ।’

कार्यक्रममा नेपाल स्काउटका सहायक राष्ट्रिय प्रशिक्षक विदुर गिरीले यस्ता कार्यक्रमले बालबालिकालाई पुनर्ताजगीका साथै आत्मविश्वासको विकास गर्नमा सहयोग पुग्ने बताए । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई आफ्नो काम आफैं गर्नुपर्छ भन्ने सिकाउन पनि स्काउटले निरन्तर रुपमा यस्ता कार्यक्रम गरिरहेको उनको भनाइ छ ।

कार्यक्रममा स्काउटमा आबद्ध बालबालिकाहरुलाई व्यवहारिक ज्ञान सिकाउनुका साथै विविध साहसिक खेलहरू सञ्चालन गरिएको थियो । साथै स्काउटहरूले दाउरामा खाना पकाउने अभ्याससमेत गरेका थिए ।

यस अवसरमा नेपाल स्काउटका पूर्वकार्यसमिति सदस्य देवदूत अधिकारी, दिपेश केसी र सहायक राष्ट्रिय प्रशिक्षक श्याम लामाको पनि विशेष उपस्थिति थियो । कार्यक्रममा देवदूत अधिकारीले विभिन्न कला प्रस्तुत गर्दै उपस्थित विद्यार्थी तथा स्काउट मास्टरहरूलाई मनोरञ्जन गराएका थिए । कार्यक्रम नेसनल ओपन स्काउट क्र्यूका सिनियर टिममेट रविन फुयालको संयोजनमा शनिबार भएको हो ।