काठमाडौं, भदौ १ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भारतीय विदेशसचिव विक्रम मिश्रीले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । त्यस वार्ताका क्रममा नेपाल-भारत सम्बन्धका विविध आयामहरुको चर्चा गर्दै आपसी हित, पारस्परिक सम्बन्ध र साझा चासोका विषयहरुमा कुराकानी भएको थियो ।

भेटका क्रममा राणाले भारतसँगको सम्बन्धलाई नेपालले सधैं उच्च महत्त्व दिँदै आएको बताउँदै नेपालको एक महत्त्वपूर्ण विकास साझेदारका रुपमा आर्थिक, प्राविधिकसहित विभिन्न क्षेत्रमा नेपाललाई गर्दै आएको सहयोगका लागि भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिइन् ।

त्यस अवसरमा राणाले दुई देशबीच पछिल्ला समयमा कनेक्टिभिटी बढाउने क्रियाकलापका साथै विभिन्न क्षेत्र र तहमा द्विपक्षीय भेटवार्ता, उच्चस्तरीय भ्रमण तथा कूटनीतिक ‘इन्गेजमेन्ट’ बढेकामा पनि खुसी व्यक्त गरिन् ।

उनले कनेक्टिभिटी नेपाल र भारतबीचको सम्बन्धमा अर्थपूर्ण रुपमा सहयोग पुग्ने र दुवै तर्फको पर्यटन एवं आर्थिक क्रियालापहरुका माध्यमबाट पारस्पारिक लाभ पुग्ने क्षेत्र भएकाले रेलवे एवं स्थलमार्गका अतिरिक्त हवाई मार्गहरुको पनि थप विस्तार गरी हवाई कनेक्टिभिटी बढाउनुपर्नेमा जोड दिइन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सहरहरूबाट थप उडान तथा अतिरिक्त हवाई रुटका लागि आवश्यक सहयोगको वातावरण बनाउने विषयमा सहयोग गर्न पनि परराष्ट्रमन्त्री राणाको आग्रह थियो । साथै नेपालगन्ज-दिल्ली सिधा उडानका लागि पनि आगामी दिनमा वातावरण तयार गर्नुपर्नेमा राणाको जोड थियो ।

परराष्ट्रमन्त्री राणाले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको धनगढीको फाप्ला क्रिकेट स्टेडियमको निर्माणको तदारुकतामा पनि जोड दिइन् । भेटका क्रममा राणाले नेपाल-भारत पारवहन सन्धिका विषयमा छलफल गर्दै व्यापार सहजीकरणमा जोड दिइन् । पछिल्लो समयमा प्लाईवुड, स्टिललगायत उत्पादनको भारत निकासीमा नेपाली निजी क्षेत्रका तर्फबाट समस्या उत्पन्न भएको भनी आएका मुद्दा र बीआईएस मापदण्ड तथा यसमा परिरहेका कठिनाइका बारेमा पनि कुरा उठाएकी थिइन् ।

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाबाट दुवैतर्फ पुग्ने लाभका विषयमा पनि आगामी दिनमा थप कार्यान्वयनका साथ अघि बढ्न तथा बाढी र डुबान नियन्त्रणका बारेमा आपसमा सहकायका साथ अघि बढ्न सकिने विषयमा मन्त्री डा राणाले जोड दिएको उनको सचिवालयले जनाएको छ ।