
दक्षिण कोरियाको राजधानी सियोलमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाले श्रमिक विद्यार्थीहरुका लागि हेल्प डेस्क सञ्चालनमा ल्याएको छ ।
भौतिक र भर्चुअल रुपमा आइतबार भएको कार्यक्रममा नेपालका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले भर्चुअल रुपमा हेल्प डेक्सको उद्घाटन गरेका हुन् । सरकारले गर्नुपर्ने काम एनआरएनएले गरेको भन्दै मन्त्री भण्डारीले प्रशंसा व्यक्त गरे ।
एनआरएनएसँग मिलेर काम गर्न सरकार सदैव तयार रहेको उनको भनाइ थियो । उनले विदेशमा बसेका नेपालीसँग नेपाल सरकार सदैव आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको उल्लेख गर्दै यस्ता रचनात्मक र सिर्जनात्मक काममा सहयोग र सहकार्य हुने पनि प्रस्ट पारे ।
सरकारले विदेशमा रहेका श्रमिकलाई सूचना प्रणालीमा एकरुपता र सहज बनाउन ‘श्रम संसार एप’ बनाएको र त्यसमा एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठसहितको टिमसँग सहकार्य गरेर खाडी मुलुकमा एआईमार्फत समस्या समाधान गर्न पाइलट प्रोजेक्ट चाँडै सुरु हुने पनि बताए । कार्यक्रमका गैरआवासीय नेपाली संघका अध्यक्ष महेशकुमार श्रेष्ठले एनआरएनएले गर्नुपर्ने वास्तविक काम दक्षिण कोरियाले सुरुवात गरेको बताउँदै एनआरएनए आईसीसीको तर्फबाट हुनसक्ने सबै प्रकारका सहयोग गर्न तयार रहेको बताए ।
‘हामीले श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालयसँग सहकार्य गरेर वान डोर सिस्टमबाट मन्त्रालयले तयार गरेको श्रम संसार पोर्टललाई प्रयोग गरेर यसलाई विशेष र फराकिलो ढंगले काम गर्न लागि रहेका छौं । यसको परिणाम अबको केही दिनमै तपाईंहरुले देखिहाल्नुहुनेछ,’ उनले भने । फरक प्रसंगमा अध्यक्ष श्रेष्ठले एनआरएनएभित्रको विभाजन, अन्योल र केही कानुनी कुराहरु अब सम्मानित सर्वोच्च अदालतले चाँडै टुंग्याउने आशा व्यक्त गरे ।
एनसीसी दक्षिण कोरियाका अध्यक्ष विपिनकुमार गुरुङको अध्यक्षता भएको कार्यक्रममा एनआरएनए एकता उच्चस्तरीय समितिका पूर्वसदस्य विनोद कुँवर, कोरियास्थित विभिन्न संघ-संस्था प्रमुख तथा प्रतिनिधि, राजनीतिक दल, पत्रकार, विद्यार्थी, श्रमिकलगायत कोरियामा रहेका नेपाली समुदायको उपस्थिति थियो ।
दक्षिण कोरियामा पछिल्लो समय नेपाली श्रमिक र विद्यार्थीको संख्या दिनप्रतिदिन बढ्दो क्रममा छ । उनीहरूले भोग्नुपरेका समस्या पनि विकराल रूप लिन थालेको सन्दर्भमा, ती समस्या केही हदसम्म समाधान र न्यूनीकरण गर्न यो हेल्प डेस्कको सुरुवात गरिएको अध्यक्ष विपिनकुमार गुरुङले बताए ।
हेल्प डेस्कमार्फत श्रमिक तथा विद्यार्थीहरूले भोगेका भाषागत समस्या, कानुनी जटिलता, स्वास्थ्यसम्बन्धी विषयहरू, कम्पनीभित्रको विभेद, कम्पनी दुर्घटना, भिसा, अध्ययन र करियरसम्बन्धी परामर्शहरू तुरुन्तै प्राप्त गर्न सक्नेछन् । साथै अन्य कानुनी प्रक्रिया र आवाज उठाउनुपर्ने विषयहरूमा पनि डेस्कले आवश्यक सहायता प्रदान गर्नेछ ।
अनौपचारिक रुपमा सुरुवात भएको केही दिनअगाडि बाटै हेल्प डेक्समा दुई दर्जनभन्दा बढी श्रमिक विद्यार्थीका विभिन्न समस्या आएको र त्यसको सुनुवाइ र समाधानका लागि निरन्तर प्रयास भएको तथा केही समस्या समाधान भएको पनि बताइएको छ । कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष जित कुँवरले स्वागत मन्तव्य राखेका थिए भने महासचिव अजय सोडारीले कार्यक्रम सञ्चालन गरेका थिए ।