
हमास समूहले बन्धक बनाएका नेपाली नागरिक विपिन जोशीका आमा र बहिनीले इजरायली राष्ट्रपति र संसदका अध्यक्षसँग भेटेका छन् ।
विपिनको खोजीको लागि इजरायल पुगेकी आमा पद्मा र बहिनी पुष्पाले इजरायली राष्ट्रपति आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा आमा पदमा जोशीले विपिनको तत्काल रिहाइका लागि पहल गरि दिन राष्ट्रपति हर्जोगसँग अनुरोध गरेकी छिन् ।विपिनकी बहिनी पुष्पाले पनि दाजुलाई सुरक्षित नेपाल फर्काउन विशेष पहल गर्न आग्रह गरेको दूतावासले जनाएको छ ।
आइतबार विपिनकी आमा पदमा जोशी,बहिनी पुष्पा जोशीका साथै इजरायलस्थित नेपाली राजदूत धन प्रसाद पण्डितले इजरायली राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।
इजरायलस्थित नेपाली दूतावासको समन्वयमा भएको भेटवार्तामा राजदूत धनप्रसाद पण्डित पनि सहभागी भएका थिए ।
राष्ट्रपति हर्जोगले विपिनको घटनाबारे आफू र सरकार निरन्तर सचेत रहेको बताएका दूतावासले नजाएको छ । राष्ट्रपति हर्जोगले नेपाली विद्यार्थी विपिन हाम्रा आफ्नै नागरिक जस्तै लाग्ने बताउदै उनको रिहाइका लागि इजरायल सरकार दिनरात प्रयत्नरत रहेको बताएको दूतावासले जनाएको छ ।
नेपाली सरकारले सम्बन्धित अरब मुलुकहरूसँग थप पहल गर्न सके प्रगति हुने विश्वास उनले व्यक्त गरेको जनाईएको छ ।
संसद अध्यक्ष अमिरसँग पनि विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरिएको छ । अमिरले पनि विपिनबारे रिहाइको प्रयास जारी राखेको जवाफ दिएका थिए ।
कृषिका विद्यार्थी विपिन सिक्दै कमाउँदै कार्यक्रमका लागि इजरायल गएका थिए । इजरायलमा हमासले गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने सोही समयदेखि विपिन सम्पर्कमा छैनन् । उनीसँगै रहेका साथीहरुले हमासले लिएर गएको बयान दिए पछि उनलाई हमासले बन्धक बनाएर राखेको भनिएको छ ।