
प्रतीकात्मक तस्बिर ।
काठमाडौंको बूढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएका छन् ।
बूढानीकण्ठ नगरपालिका ७, स्पेसल चोकमा बा.प्र.०२-०४१ प ६८१९ नम्बरको स्कुटर र प्र. ३-०२-००२ प ५७२ नम्बरको मोटरसाइकल आइतबार राति पौने १० बजेतिर ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार मोटरसाइकलमा तीनजना र स्कुटरमा दुईजना चढेका थिए । दुर्घटनापछि पाँचैजना सख्त घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।
सख्त घाइते भएका मोटरसाइकलका चालक सिरहाको जमदाहाका २९ वर्षीय भोला थापाको उपचार क्रममा सोमबार बिहान सवा २ बजे मृत्यु भएको हो । यस्तै ३५ वर्षीय अर्का व्यक्तिको पनि त्यही समयमा मृत्यु भएको हो ।
घाइते तीनजना घाइतेको अवस्था पनि सिकिस्त छ । तीमध्ये एक जनाको मात्रै परिचय खुलेको छ । जसमा गोरखाको आरुपोखरी घर भई अहिले काठमाडौं भंगाल बस्ने २४ वर्षीय एरिक परियार छन् । उपचाररत परियार बोल्न नसक्ने अवस्थामा छन् ।