
नेपाल रुबेला रोग मुक्त देश भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को दक्षिण-पूर्वी एसिया क्षेत्रीय प्रमाणीकरण आयोगले नेपालमा विगत तीन वर्षभन्दा बढी समयदेखि रुबेला भाइरसको संक्रमण सफलतापूर्वक निवारण भएको तथ्यलाई आधिकारिक रूपमा प्रमाणित गरेको छ ।
यो ऐतिहासिक उपलब्धि नेपाल सरकारको दृढ इच्छाशक्ति, अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूको अथक परिश्रम, सचेत नागरिक समाजको सक्रिय सहभागिता र हाम्रा विकास साझेदारहरूको निरन्तर सहयोग तथा समन्वयबाट सम्भव भएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जनाए ।
यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै स्वास्थ्यमन्त्री पौडेलले भनेका छन्, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालय यस उपलब्धिलाई दिगो बनाउन र भविष्यमा यस्ता रोगहरूबाट हाम्रा नागरिक र विशेषगरी बालबालिकालाई पूर्ण रूपमा सुरक्षित राख्न प्रतिबद्ध छ । यसका लागि हामी निरन्तर खोप सेवाको पहुँच विस्तार, रोग-निगरानी प्रणालीको सुदृढीकरण तथा निवारणपश्चातको कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौं । यस राष्ट्रिय गौरवको अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्र्याउनुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दछु ।’