
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलिन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बैठक मिलाउन थालिसकेको बताएका छन्।
यो घोषणा उनले आज जेलिन्स्की र युरोपेली नेताहरूसँग भएको शिखरवार्तापछि गरेका हुन्। ट्रम्पले भने अनुसार उनले यो योजनाबारे पुटिनसँग पनि फोनवार्तामा छलफल गरेका थिए।
पत्रकार सम्मेलनमा युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलिन्स्कीले बताएअनुसार रूसले पहिले युक्रेनसँग दुई-पक्षीय बैठक गर्ने प्रस्ताव गरेको छ त्यसपछि अमेरिकी राष्ट्रपति समेत सहभागी हुने गरी त्रिपक्षीय बैठक हुनेछ। उनले भने कि रुसी राष्ट्रपतिसँग जसरी भए पनि भेट गर्न तयार छु।
यसअघि राष्ट्रपति जेलिन्स्कीले युक्रेनभरि रूसले गरेका पछिल्ला आक्रमणहरूको निन्दा गरेका थिए । जसमा कम्तीमा १० जनाको मृत्यु भएको थियो। उनले भने क्रेमलिनले कूटनीतिक प्रयासलाई अपमानित गर्न खोजेको छ । यो गतिविधिले विश्वसनीय सुरक्षा सुनिश्चितता किन आवश्यक छ भनेर देखाएको छ ।
पुटिनसंग भेट्न तयार छु:जेलिन्स्की
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्की र युरोपेली नेताहरूले ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पसँग युक्रेन युद्धबारे वार्ता गरेका छन् ।
ट्रम्पले रुसी राष्ट्रपति भ्लोदिमिर पुटिनलाई फोन गरेर रुसी र युक्रेनी राष्ट्रपति बीच भेटवार्ता मिलाउन प्रयास समेत गरेका छन् । क्रेमलिनका अनुसार फोनवार्ता ४० मिनेट लामो भएको थियो।
युक्रेनी राष्ट्रपति जेलिन्स्कीले आज भएको सुरक्षा सुनिश्चितता जस्ता संवेदनशील विषयहरूबारे धेरै राम्रो भएको बताएका छन् । उनले आफू पुटिनसँग दुई पक्षीय भेटका लागि तयार रहेको समेत बताएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका लागि सुरक्षा सुनिश्चितता युरोपेली मुलुकहरूले उपलब्ध गराउनेछन् र अमेरिकाले त्यसमा समन्वय गर्ने बताए ।
ट्रम्पका अनुसार संघर्ष अन्त्य गर्न वार्ताका लागि युद्धविराम आवश्यक छैन तर फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन र जर्मनीका चान्सलर फ्रिडरिख मर्जले युद्धविरामको आग्रह गरेका छन्।
पुटिन–जेलिन्स्की बैठक सम्भावना कति?
वार्तापछि ट्रम्पले ट्रुथ सोसलमा लेख्दै पुटिनलाई फोन गरेर उनले जेलिन्स्की र रुसी नेताबीच वार्ता मिलाउन थालनी गरेको बताएका छन्।
ट्रम्पका अनुसार यस्तो दुई-पक्षीय बैठकपछि आफू समेत सहभागी हुने गरी त्रिपक्षीय बैठक हुनेछ।
सोमबार ट्रम्प र पुटिनबीचको फोनवार्ता ४० मिनेट लामो भएको पुटिनका एक सल्लाहकारले बताएका छन् ।
ह्वाइट हाउसको ईस्ट रुममा युरोपेली नेताहरू ट्रम्पसँग बस्नुअघि नै एक हट माइक्रोफोनमा ट्रम्पले फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनलाई भने ,“मलाई लाग्छ पुटिनले सम्झौता गर्न चाहन्छन्।
फेब्रुअरी २०२२ मा रुसी आक्रमण सुरु भएपछि पहिलो पटक यी दुई कट्टर शत्रुलाई एउटै वार्ता टेबलमा ल्याउन कत्तिको सजिलो हुन्छ भन्ने अझै स्पष्ट छैन।
युक्रेनी राष्ट्रपति जेलिन्स्की महिनौँदेखि पुटिनसँग भेट गर्ने इच्छुक देखिँदै आएका छन् तर मास्कोले भने पटक–पटक पुटिन–जेलिन्स्की भेटलाई अस्वीकार गरेको छ।
युद्धविरामबारे ट्रम्पको लचिलो धारणा,युरोपेलीहरूको आपत्ति
ट्रम्पले युद्ध अन्त्यका वार्ताअघि युद्धविरामको आवश्यकतालाई खारेज जस्तै गरेका छन्। युक्रेनका लागि भने युद्धविराम सधैं पहिलो माग थियो जसलाई उसले वार्ताको पूर्व शर्तको रूपमा स्पष्ट गर्दै आएको छ।
पूर्ण शान्ति सम्झौता भन्दा युद्धविराम सहमति केही हदसम्म सजिलो हुने सम्भावना रहन्थ्यो। तर ट्रम्पले भने,“मलाई युद्धविराम आवश्यक लाग्दैन।” युरोपेली नेताहरूले यसको प्रतिवाद गरे जहाँ जर्मन चान्सलर फ्रिडरिख मर्ज सबैभन्दा कडा ढंगले बोले।
“म युद्धविराम बिना अर्को बैठक हुने कुरा कल्पना गर्न सक्दिनँ। त्यसैले यसमा काम गरौँ र रुसमाथि दबाब सिर्जना गरौँ,” उनले भने।
जेलिन्स्कीले भने यसपटक आफ्ना अघिल्ला युद्धविरामका मागलाई दोहोराएनन्।
सुरक्षा सुनिश्चितताबारे ट्रम्पको संकेत
राष्ट्रपति ट्रम्पले जेलिन्स्कीलाई भने कि अमेरिकाले कुनै पनि शान्ति सम्झौतामा युक्रेनको सुरक्षा सुनिश्चित गर्न मद्दत गर्नेछ । तर उनले त्यसको दायरा भने खुलाएनन्।
अमेरिकी सेनाको प्रत्यक्ष संलग्नता अस्वीकार नगरे पनि उनले युरोपलाई पहिलो पंक्ति भने र अमेरिकाले समेत संलग्न हुने जनाए।
“हामी राम्रो सुरक्षा दिनेछौँ,” ट्रम्पले भने।
यो विषयमा ट्रम्पको अहिले सम्मको सबैभन्दा स्पष्ट अभिव्यक्ति हो।
उनका अनुसार अलास्काको शिखर वार्तामा पुटिनले पनि युक्रेनका लागि सुरक्षा सुनिश्चितता हुने कुरा स्वीकार गरेका थिए।
वार्तापछि पत्रकार सम्मेलनमा जेलिन्स्कीले भने कि सुरक्षा सुनिश्चिततामा अमेरिकासँग ९० अर्ब डलरको हतियार सम्झौता पनि सामेल हुनेछ।
यसमा युक्रेनसँग नभएका अमेरिकी हतियारहरू विमान प्रणाली, एन्टि-मिसाइल प्रणाली लगायत हुने उनले जनाए।
जेलिन्स्कीले अमेरिकाले युक्रेनी ड्रोन किन्ने र त्यसले घरेलु उत्पादनलाई सहयोग गर्ने बताए । उनका अनुसार कीभका लागि सुरक्षा सुनिश्चितता १० दिनभित्रै स्पष्ट हुने सम्भावना छ।
युक्रेनको सुरक्षा ग्यारेन्टीका लागि अमेरिकी प्रतिबद्धता आजको वार्ताको सबैभन्दा महत्वपूर्ण निष्कर्ष: माक्रोन
फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले आज ह्वाइट हाउसमा भएको छलफलको सबैभन्दा महत्वपूर्ण निष्कर्ष भनेको अमेरिकाले युक्रेनका लागि सुरक्षा ग्यारेन्टीहरूमा काम गर्ने इच्छा देखाउनु हो।
“हामीले केही दिन वा हप्ताअघि यति स्पष्ट नभएका धेरै महत्वपूर्ण बुँदामा सहमति जनाएका छौं,” माक्रोनले भने “पहिलो र सबैभन्दा महत्वपूर्ण कुरा भनेको अमेरिकाको प्रतिबद्धता हो,जसअनुसार सुरक्षा योजनाहरूलाई अझै विकसित गर्नेछ।”
“आज हामीले अमेरिकासँग मिलेर यी सुरक्षा ग्यारेन्टीहरूको विषयवस्तुमा र हरेक पक्षले दिन सक्ने सहयोगबारे काम गर्ने सहमति गरेका छौं,” उनले थपे।
फेब्रुअरीदेखि युरोपेली नेताहरूले बनाउँदै आएको इच्छुक देशहरुको गठबन्धन अहिले ३० देशमा पुगेको छ जसले युक्रेनको सुरक्षाका लागि समर्थन अझ फराकिलो र सबल भएको संकेत गरेको समेत उनले बताए ।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलिन्स्कीबीच हुने सम्भावित वार्ता सुरुमा द्विपक्षीय स्वरूपमा हुनुपर्ने र त्यसपछि मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग त्रिपक्षीय वार्ता हुनुपर्ने उनले बताए।
ती वार्ता केवल युद्धविराम अन्तर्गत मात्र हुन सक्ने उनको भनाई छ। उनले भने यसलाई युद्धविराम भन्नुहोस् वा अस्थायी युद्धविराम तर बम वर्षा भइरहेका बेला छलफल गर्न सकिँदैन।
माक्रोनले ट्रम्पले पुटिनसँग सम्झौता गर्न सक्ने क्षमतामा विश्वास गरेको कुरा स्वागत गरे र आफू पनि पुटिन शान्ति सम्झौतामा इच्छुक भएको विश्वास गर्न चाहेको बताए। तर उनले चेतावनी दिँदै भने यदि त्यो प्रक्रिया असफल भयो भने युरोपले रुसलाई पुनः वार्तामा फर्काउन थप कडा प्रतिबन्धहरू लगाउन तयार हुनुपर्नेछ।