
झापा दमक नगरपालिका ७, पशुडाँडास्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारीसाधन दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।
आज (मंगलबार) बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दागोभी बोकेको प्र१-०२-००२ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र१-०१-०१२प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका ५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन् । गौतमको दमक अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।
त्यसैगरी मोटरसाइकलमा सवार गौतमकी पत्नी ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको प्रनाउ खड्काले बताए । दुर्घटनापछि ट्रक चालक तेह्रथुमको लालीगुँरास नगरपालिका ४ का २५ वर्षीय आङ्दावा शेर्पा, ट्रक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।