
पश्चिमी अफगानिस्तानमा भएको एक सडक दुर्घटनामा १७ बालबालिका सहित कम्तीमा ७३ जनाको ज्यान गएको छ।
मृतकहरूमध्ये धेरै जना ईरानबाट निर्वासित गरिएका अफगान आप्रवासी रहेको तालिबान अधिकारीले पुष्टि गरेका छन्।
तालिबानको हेरात प्रान्तीय सूचना तथा संस्कृति निर्देशक अहमदुल्लाह मोत्ताकीका अनुसार मङ्गलबार राति हेरात प्रान्तमा काबुल जाँदै गरेको बसमा एउटा ट्रक र मोटरसाइकलसँग ठोक्किएपछि आगो लागेको थियो।
बसमा सवार सबै यात्रुहरूको मृत्यु भएको छ भने अन्य दुई सवारी साधनका व्यक्तिहरू पनि मारिएका छन्।
प्रान्तीय गभर्नरका प्रवक्ता मोहम्मद युसुफ सैदीले बताए अनुसार सबै यात्रुहरू इस्लाम कला अफगान–ईरान सीमा नजिकको शहरबाट चढेका आप्रवासीहरू थिए।
हेरात प्रहरीले चालकको अत्यधिक गति र लापरबाहीका कारण दुर्घटना भएको जनाएको छ।
अफगानिस्तानमा सडक नियम कडाइका साथ कार्यान्वयन नहुने र दशकौँको युद्धले सडकहरू क्षतिग्रस्त भएकाले सडक दुर्घटना सामान्य मानिन्छ।
सन् १९७० को दशकदेखि लाखौँ अफगानहरू ईरान र पाकिस्तानतर्फ पलायन भएका छन्। खासगरी १९७९ को सोभियत आक्रमणताका र २०२१ मा तालिबान सत्तामा फर्किएपछि पलायन बढेको हो ।
यसले ईरानमा अफगानविरोधी भावनालाई बढाएको छ। जसका कारण आप्रवासीहरूले संस्थागत भेदभाव भोगिरहेका छन्।
ईरानले यसअघि कागजात विहीन अफगानलाई स्वेच्छाले फर्किन जुलाई सम्मको समय दिएको थियो। तर जूनमा इजरायलसँग भएको छोटो युद्धपछि ईरानी अधिकारीहरूले सुरक्षा चिन्ताको कारण भन्दै लाखौँ अफगानलाई जबरजस्ती फिर्ता पठाएका छन्। आलोचकहरूले भने यसलाई इजरायली आक्रमणविरुद्धका आफ्ना सुरक्षा असफलताका लागि दोषी देखाउने प्रयास भएको बताएका छन्।
संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार जनवरीयता १५ लाखभन्दा बढी अफगानहरू ईरान छोडिसकेका छन्। तीमध्ये कतिपय पुस्तौँदेखि त्यहाँ बसोबास गर्दै आएका थिए।
विशेषज्ञहरूले चेतावनी दिएका छन् कि तालिबानको सत्तामा रहेकोअफगानिस्तानमा जबरजस्ती फर्काइएका यति ठूलो संख्याका आप्रवासीलाई व्यवस्थापन गर्ने क्षमता छैन। पाकिस्तानले समेत सयौँ हजार अफगानलाई फर्काइरहेकाले देश अझ ठूलो संकटमा परेको छ।