
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अदालतले तोकेको धरौटी बुझाउँदा पनि रवि लामिछानेलाई थुनामै राख्नु राजनीतिक प्रतिशोध भएको दाबी गरेका छन् ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका रास्वपा सभापति लामिछानेलाई बुधबार भेटेपछि दाहालले यस्तो बताएका हुन् । एमाले र कांग्रेसको कारणले आफ्नो पार्टीलाई फाइदै भएको रविले बताएको समेत दाहालले सुनाए ।
ललितपुरको नख्खु कारागारमा पुगेर दाहालले लामिछानेसँग भेटेपछि सञ्चारकर्मीलाई भने, 'रवि लामिछाने दुब्लाएको देखें ।' साथै उनले उपसभामुख इन्दिरा रानालाई हटाउन खोज्नु पनि गलत रहेको बताए ।
रूपन्देही कारागारमा रहेका लामिछानेलाई उनकै माग बमोजिम शनिबार नख्खु कारागार स्थानान्तरण गरिएको हो । रुपन्दैहीमा छुट्टै कोठामा राखिएका उनलाई यहाँ भने सुरुकै दिन ४ जना रहेको ब्लकमा राखिएको थियो । उनलाई केही असहज भएपछि छुट्टै व्यवस्था गरिएको छ ।
