काठमाडौं, भदौ ५ :

नेपालले उठाएको सीमा सम्बन्धी दाबीलाई भारतले प्रमाणहीन भन्दै अस्वीकार गरेको छ। भारत र चीनले लिपुलेक हुँदै पुनः सीमा व्यापार सुरु गरेपछि नेपालले गरेको टिप्पणीप्रति भारतले यस्तो प्रतिक्रिया जनाएको हो । 

भारतको विदेश मन्त्रालयले आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै कोभिड र अन्य कारणले केही समय अवरुद्ध भएको व्यापार दुवै पक्षको सहमतिमा अहिले पुनः सुरु भएको जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले विज्ञप्तिमार्फत नेपालले उठाउँदै आएको भौगोलिक दाबीलाई अस्वीकार गरेको छ ।उनले  थपे, ‘हाम्रो धारणा स्पष्ट छ, नेपालका दाबीहरू ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन्। कुनै पनि एकतर्फी कृत्रिम भू-भाग विस्तार अस्वीकार्य छ।’

विज्ञप्तिमा भनिएको छ, ‘हामीले नेपालका परराष्ट्र मन्त्रालयको टिप्पणीलाई ध्यान दिएका छौं। भारत–चीनबीच लिपुलेक हुँदै हुने सीमा व्यापार १९५४ मा सुरु भएको हो र दशकौँदेखि चल्दै आएको छ। कोभिड र अन्य कारणले केही समय अवरुद्ध भएको व्यापार दुवै पक्षको सहमतिमा अहिले पुनः सुरु भएको छ।’ भारतले नेपालसँग रहेका सीमासम्बन्धी बाँकी विषयहरूलाई संवाद र कूटनीतिक माध्यमबाट समाधान गर्न तयार रहेको उल्लेख गरेको छ।

नेपालले चुच्चे नक्सा जारी गरेपनि त्यसलाई अन्तर्राष्ट्रियकरण गर्न नसक्दा त्यसले मान्यता पाउन सकेको छैन । नेपाली भूमि लिपुलेकका बारेमा चीन मौन रहँदा भारतले एकलौटी रुपमा नेपाललाई हेपेर अगाडि बढेको हो ।

भारतसँगको सीमा विवाद समाधानका लागि नेपालले संवाद र कूटनीतिकमार्फत पहल गर्न ढिला गर्नुहुन्न ।नेपाल सरकारले हालै भारत–चीन व्यापार पुनः सुरु गरिएको विषयमा आफ्नो असन्तुष्टि व्यक्त गर्दै लिपुलेक क्षेत्र नेपालको क्षेत्रफलमा पर्ने भन्दै आपत्ति जनाएको थियो।