
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल एक्समा उनले नेपालको राष्ट्रिय हित र सार्वभौमसत्तासँग जोडिएको यस विषयलाई लिएर फरक-फरक राजनीतिक धारणा भए पनि एउटै राष्ट्रिय दृष्टिकोणमा उभिन जरुरी रहेको उल्लेख गरे ।
उनले राष्ट्रियतालाई सम्बोधन गर्न सरकार, संसद् र सबै राजनीतिक दलबीच ऐक्यबद्ध पहल आवश्यक रहेको जनाउँदै ६ वटा प्रस्ताव अघि सारेका छन् ।
‘लिपुलेक नेपालको हो । भारत र चीन दुवै छिमेकीको पछिल्लो व्यवहारप्रति स्पष्ट विरोध छ । सरकार, संसद्, दलहरू र सिंगो नेपाल राष्ट्रियताको प्रश्नमा एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिनुपर्छ । क्रमशः ६ कदममार्फत ऐक्यबद्ध पहल गरौं,’ उनले भने ।
यस्ता छन्- शर्माले प्रस्ताव गरेका ६ बुँदा :
१. सरकारले आह्वान गर्ने सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत साझा दृष्टि निर्माण ।
२. बैठकमार्फत विकसित घटनाक्रममा हाम्रो ऐक्यबद्ध दृष्टि र साझा प्रतिबद्धता सुनिश्चित गर्ने ।
३. संविधानको अनुसूची ३ मा २०७७ जेठ ३१ गते संसदले सर्वसम्मत पारित गरेको ‘चुच्चे नक्सा’लाई देशभित्र र अन्तर्राष्ट्रिय जगतमा थप स्पष्ट गर्ने ।
४. भारत र चीनबीच २०१५ मे १५ मा लिपुलेकबारे भएको सहमतिसम्बन्धी नेपालले पठाएको कूटनीतिक नोटलाई स्मरण गर्दै पछिल्लो सहमतिबारे पनि कूटनीतिक नोट पठाउने ।
५. ऐतिहासिक तथ्यका आधारमा दुवै छिमेकीलाई विश्वासमा लिएर प्रधानमन्त्रीको आसन्न भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको मुद्दा प्रमुखतासाथ उठाउने ।
६. नेपाल-भारत सिमासम्बन्धी समाधानका लागि ७ वर्षअघि तयार भएको प्रबुद्ध व्यक्तिहरुको समूह (ईपीजी) को प्रतिवेदन दुवै प्रधानमन्त्रीले बुझेर त्यसलाई आधार मानेर अन्य विषयहरुको समेत समाधान खोज्ने प्रस्ताव गर्ने ।