काठमाडौं, भदौ ५ :

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले भारत र चीनबीच नेपालको भूमि लिपुलेक र कालापानीलाई समेटेर व्यापार गर्ने सम्झौता अस्वीकार्य रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद थापाले दुई छिमेकीबिचको सहमति अस्वीकार्य रहेको बताए । ‘भारत र चीनबीच भएको भनिएको सहमति अस्वीकार्य छ,’ उनले भने ।

उनले दुई देशबीच नेपालको भूमिलाई समेटेर व्यापार गर्ने सम्झौताविरुद्ध नेपालका सबै राजनीतिक दलहरू एक स्थानमा उभिनुपर्ने बताए ।

‘भारत र चीनबीचको सम्झौताबारे नेपालका दलहरू एक स्थानमा उभिनुपर्छ । यस विषयलाई घरेलु राजनीतिक विषय बनाउनुहुन्न,’ उनले भने, ‘यसबारे नेपालका सबै राजनीतिक दल एकढिक्का भएर नेपालको भूमिमाथि आँखा लगाउने विषय हामीलाई अस्वीकार गर्छौं भन्न सक्नुपर्छ ।’