
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको सक्रिय कार्यकर्ता रहेको बताएकी छिन् ।
काठमाडौंको थापागाउँमा बिहीबार आयोजित सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा उनले आफू निरन्तर सक्रिय भइलाग्ने बताइन् । उनले आफ्नो संगठित सदस्यतामै प्रश्न उठेकोप्रति गुनासो गर्दै पार्टीको केन्द्रीय कार्यालय च्यासलले सदस्यतासम्बन्धी प्रश्न उठाउनु आश्चर्यजनक भएको बताइन्।
‘साथीहरू नेता भन्छन् तर च्यासलले मेरो संगठित सदस्यतामै प्रश्न उठायो,’ भण्डारीले भनिन्, ‘मैले ०३७ सालमै माले हुँदै सदस्यता लिएको हुँ, ४५ वर्ष भएछ।’
पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रपतिको रुपमा मर्यादित ढंगले काम गरेको दाबी गर्दै, आफू आलोचनाभन्दा बाहिर नरहेको स्पष्ट पारिन्। तथापि, आलोचना तथ्यमा आधारित हुनुपर्ने उनको भनाइ थियो।
उनले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तका रूपमा लिएको जनताको बहुदलीय जनवाद (जबज) को मर्मअनुसार काम भइरहेको छ कि छैन भन्ने समीक्षा आवश्यक रहेको पनि बताइन्। ‘पार्टीमा विकृति र विसंगति छन् भने त्यसको विरोधमा लडिरहने छु,’ उनले भनिन्, ‘मैले सिद्धान्त अनुसार काम गर्छु, मेरो पूर्ण सहयोग रहनेछ।’