
नेपालको भूमि लिपुलेकबाट भारत र चीनले व्यापार पुन: सुचारु गर्ने सहमति गरेपछि भारतसँगको सीमा विवाद फेरि बल्झिएको छ । दुई देशले सहमति गरेलगत्तै नेपाले लिपुलेक होम्रो भएको जनाउँदै तत्कालै प्रतिक्रिया जनाएको थियो ।
त्यसको जवाफमा भारतीय विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै लिपुलेक आफ्नै भएको र नेपालको दाबी नपुग्ने भन्दै अन्य क्षेत्रको विवाद भने कूटनीति समाधान गर्न सकिने उल्लेख गरेको छ । भारतको प्रतिक्रियाले नेपालको सदनदेखि सडकसम्मै तातेको छ । नेपालले लिपुलेकलगायतका भूमिलाई समेट्दै नयाँ नक्सा जारी गरे पनि त्यसलाई अन्तर्राष्ट्रिय करण नगरेर चुपचाप बस्दा यो अवस्था आएको सीमाविद्हरुको तर्क छ ।
परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको पुन: स्पष्ट पारेको छ ।
यसैबीच, चीन र भारतबीच भएको सहमतिको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। एमाले निकट अनेरास्ववियुले साँझ काठमाडौंस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको हो।
उनीहरूले नेपाली भूमि प्रयोग गर्ने गरी गरेको समझदारी अस्वीकार्य रहेको भन्दै विरोध जनाए। उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजीसमेत गरेका थिए।
यसैगरी, स्वतन्त्र युवाहरूको समूहले समेत सो सहमतिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। विरोधका क्रममा मोदी र सी जिनपिङको पुतलामा जुत्ता हान्ने प्रदर्शनकारी ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।