सुनसरी, भदौ ६ :

अविरल वर्षासँगै सेउती खोलामा आएको बाढीका कारण धरान उपमहानगरपालिका १४ को यायोखा टोल र धरान उपमहानगरपालिका ४ को किरात बस्तीलाई जोड्ने झोलुंगे पुलको पूर्वी भाग क्षतिग्रस्त भएको छ ।

०५७/५८ सालमा ५० लाख रुपैयाँमा निर्माण गरिएको पुल धरान बजारसँगको दैनिक आवागमनका लागि अत्यन्त महत्त्वपूर्ण मानिन्छ । गत साउन २८, २९ र ३० गतेको निरन्तर वर्षापछि खोलामा आएको बाढीले पुलको पूर्वी संरचनामा क्षति पुर्याएको धरान उपमहानगरपालिका ४ का वडा सदस्य राजन चाम्लिङले जानकारी दिए ।

पुल अवलोकन तथा स्थलगत निरीक्षणका क्रममा कोसी प्रदेशसभा सदस्य रमेश बस्नेत, नेकपा एमाले कोसी प्रदेश सदस्य राजेन्द्र राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईलगायतले निरीक्षण गरेका थिए । पुल तत्काल मर्मत गरी सुरक्षित आवागमन सुनिश्चित गर्न सरोकारवाला निकायलाई आग्रह गरिएको वडासदस्य चाम्लिङले बताए ।

उनका अनुसार बाढीका बेला यदि तारजालीसहितको तटबन्ध निर्माण गरिएको भए पुललाई क्षति हुनबाट रोक्न सकिन्थ्यो । तत्काल आवश्यक सुरक्षात्मक संरचना निर्माण गरी पुल जोगाउने प्रयास भइरहेको छ । उनले भने, ‘यसका लागि हामीले जिल्ला प्रशासन कार्यालयसँग पनि अनुरोध गरिसकेका छौँ ।’ हाल पुलको क्षति बढ्न नदिन आवश्यक सतर्कता अपनाइँदै आएको र जोखिम न्यूनीकरणका उपायमा प्राथमिकता दिइएको उनले बताए ।