बागलुङ, भदौ ६ :

बागलुङमा विद्यार्थी बोकेको गाडी दुर्घटना भएको छ । गाडी दुर्घटनामा ६ जना घाइते भएका छन् ।

बागलुङको गलकोट नगरपालिका ५ स्थित शिवालय मन्दिरनजिकै शुक्रबार बिहान गलकोट बहुमुखी क्याम्पसको गाडी दुर्घटना भएको हो ।

हरिचौरबाट हटिया जाँदै गरेको ग.१झ ७४३ नम्बरको गाडी दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

दुर्घटनामा १८ वर्षीया सुस्मिता विक, १८ वर्षीया प्रमिला विक, २५ वर्षीय मोहनसिंह सुनार, १९ वर्षीय जीवन खत्री, १९ वर्षीया अमिसा क्षेत्री र १८ वर्षीया सुनीता सापकोटा घाइते भएको इलाका प्रहरी कार्यालय गलकोटका प्रहरी सहायक निरीक्षक मनबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार तीव्र गतिका कारण गाडी दुर्घटना भएको हो । घाइतेहरुको गलकोट नगर अस्पतालमा उपचार भइरहेको छ ।