काठमाडौं, भदौ ६ :

राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा धेरै परिवर्तन आइसकेको भन्दै मान्छेले मिठो खान, राम्रो लगाउन चाडपर्व नै कुर्नुपर्ने अवस्थाको अन्त्य होस् भनेरै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको दाबी गरेका छन् ।

शीतलनिवासमा शुक्रबार आयोजित तिजको अवसरमा आयोजित शुभकामना आदान-प्रदान कार्यक्रममा उनले नेपालको संविधान, ऐन र नियमावलीमा महिलाका सम्बन्धमा धेरै हक-अधिकारको व्यवस्था भइसकेको र अब प्रभावकारी कार्यान्वयनमा ध्यान केन्द्रित गर्न जरुरी रहेको धारणा राखे ।

राष्ट्रपति पौडेलले संस्कृति तथा चाडपर्वले देशको मौलिकता कायम गर्ने हुनाले यसको संरक्षण, सम्वर्धन र निरन्तरतामा लागिरहनुपर्ने बताए ।

विगतका दिनमा असार, साउनमा खेतीपातीमा व्यस्त रहने महिला भदौमा पर्ने यस चाड आएपछि घरबाट बिदा लिएर माइती जाने र मिठो खाने तथा राम्रो लगाउने गरेर मनाउने गरेको स्मरण गरे । उनले भने, ‘त्यस्तै, घरमा पाएका दुःख, कष्ट र बुहार्तनका विषयमा गीतका माध्यमद्वारा आफ्नो वेदना पोख्दथे ।’