
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको सुरक्षित भविष्यका लागि जलवायु एवं वातावरणको संरक्षण गर्नुपर्नेमा जोड दिएकी छन् ।
बनेपा नगरपालिका ३, काँसी भञ्ज्याङ क्षेत्रमा १० हजार वृक्षरोपण गरिने कार्यक्रमको शुभारम्भ गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल अकल्पनीय समस्यामा परिरहेकाले सुरक्षित भविष्यका लागि जलवायु संरक्षणमा जोड दिनुपर्ने बताइन् ।
त्यसअवसरमा उनले भनिन्, ‘नेपाल जलवायु परिवर्तनको प्रभावबाट संकटमा परेको छ । हाम्रो यो अवस्थाबारे विश्व समुदायमा जानकारी गराएका छौं र हाम्रा कारणले हामी पीडित होइनौँ भन्ने तथ्य विश्वले बुझिसकेको अवस्था पनि छ । त्यसैले हामी थप सक्रिय भएर जलवायु न्यायका लागि लाग्नुपर्ने अवस्था छ ।’
नेपालले केही महिनाअघि पनि सगरमाथा संवादको आयोजना गरेर हामी कसरी जलवायु परिवर्तनको चपेटामा परेका छौँ भन्ने कुरा स्पष्ट जानकारी गराएको र नेपालको अवस्था र व्यवस्थाका बारेमा आफ्ना धारणासहितको २५ बुँदे कार्ययोजनासमेत सार्वजनिक गरेको उनले जनाइन् ।
परराष्ट्रमन्त्री राणाले नेपालका तर्फबाट आफूले पहिलोपटक अन्तर्राष्ट्रिय अदालतमा उपस्थित भई नेपालले जलवायु न्याय पाउनुपर्ने कुरालाई जोडदार रुपमा उठाएको स्मरण गरिन् । उनले अब कार्बन ट्रेड, लस एन्ड ड्यामेज फन्डसहित जलवायु न्यायका विषयमा नेपालको पहुँच र कार्यक्रमका लागि लाग्ने पनि जानकारी गराइन् ।
अहिले देखिएको जलवायु परिवर्तनको असरलाई कम गर्न र भोलिको पुस्ताको भविष्यलाई सुरक्षित बनाइराख्न मुलुकको युवा पुस्ताको भूमिका अझ महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । यस विषयमा थप अध्ययन अनुसन्धान गर्न, वातावरण संरक्षणका कार्यक्रमहरुमा सहभागिता जनाउन र नेपालको प्राकृतिक क्षेत्र र जलसम्पदाको संरक्षण र सम्वर्धनका क्षेत्रमा अहिल्यैदेखि लाग्न उनले युवा पुस्तालाई सुझाइन् ।