लमजुङ, भदौ ६ :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् ।

लमजुङको बेंसीसहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा संग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै अध्यक्ष दाहालले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गए पनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको बताए ।

‘हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो । तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौं,’ उनले भने ।

भवन निर्माणका लागि संघीय सरकारबाट विनियोजन गरिएको थियो । अध्यक्ष दाहालले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै ‘रिजर्भेसन’, ‘भिन्न मत’ वा ‘नोट अफ डिसेन्ट’ दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता जनाए ।

पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दासमेत सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा विशेष पहल लिएर काम गरेको उनले बताए । ‘त्यही जमर्कोका कारण प्रतिक्रियावादीहरू, पहिचान र अधिकार विरोधीहरूले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे,’ उनले भने ।

पार्टी सरकारबाहिर भए पनि जनतासमक्ष विभिन्न अभियानमार्फत जोडिँदै पुनः अभियानमार्फत सुशासन, पहिचान, अधिकार र समावेशिताका मुद्दालाई देशव्यापी रूपमा उठाउने तयारी भइरहेको उनले बताए । ‘अब छिटै, भदौको तेस्रो साताबाट हामीले त्यस अभियानलाई फेरि पूर्णता दिने तयारीमा छौँ,’ उनले भने ।

तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीका रूपमा उल्लेख गर्दै उनले उक्त संस्थाले गर्दै आएको प्रयासप्रति खुसी जनाए । त्यस अवसरमा अध्यक्ष दाहालले लमजुङको सांस्कृतिक तथा संग्रहालय भवन तामाङ समुदायको हक र पहिचानको सन्देश दिने एउटा बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे ।