काठमाडौं, भदौ ७ :

समावेशी शिक्षालाई विकास गर्ने उद्धेश्यले देशभरका विभिन्न स्रोत कक्षाका शिक्षकहरूका लागि काठमाण्डौंमा एक हप्ते तालिम संचालन गरिएको छ । 

नेपालमा समावेशी शिक्षा प्रवर्धन कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षा शास्त्र सङ्काय डीनको कार्यालयले आयोजना गरेको सो तालिमको शिक्षाशास्त्र सङ्कायका डीन प्रा. डा. वेदराज आचार्यले उद्घाटन गरेका हुन् ।

 कार्यक्रमको उद्घाटन गर्दै डीन प्रा. डा. आचार्यले समावेशी शिक्षालाई व्यवस्थित गर्न यो परियोजनाले महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् । आगामी दिनहरूमा शिक्षाशास्त्र सङ्कायले यस किसिमको सहकार्यलाई खुला राखेको समेत बताए ।

समावेशी शिक्षा भनेको विविधताको सम्मान, विवेद रहित, समावेशी रुपमा सहकार्य र सबैको पहुँचलाई प्रबर्द्धन गर्ने एक शैक्षिक प्रक्रिया हो । यसलाई प्रबर्द्धन गर्न राज्यले यसमा लगानी बढाउनुपर्ने बताउदै शिक्षकहरूको क्षमता विकासमा पहल गर्नुपर्ने तथा सचेतीकरण र जागरण जस्ता कार्यक्रमहरू अगाडि बढाउनुपर्नेमा डीन प्रा डा आचार्यले जोड दिए ।

यसैगरी उक्त कार्यक्रमको अध्यक्षता समावेशी शिक्षामा लामो समय काम गरेका यस परियोजनाका संयोजक प्रा.डा. वासुदेव काफ्लेले गरेका थिए ।

कार्यक्रमको सञ्चालन समावेशी शिक्षा विषय समितिका अध्यक्ष सहप्राध्यापक डा. ध्रुव निउरेले गरेका थिए ।

उद्घाटन सत्रमा ग्राजुएट स्कुल अफ एजुकेसनका निमित्त निर्देशक सहप्राध्यापक डा. रविन्द्र शिवाकोटी तथा शिक्षाशास्त्र केन्द्रीय विभाग अन्तरगत समावेशी शिक्षा विभागका विभागीय प्रमुख डा. नमराज न्यौपानेले समावेशी शिक्षाको बारेमा आ-आफ्ना धारणा वयक्त गरेका थिए ।

यही भाद्र ११ गतेसम्म संचालन हुने उक्त तालिममा नेपालका विभिन्न जिल्लाका २० जना स्रोत शिक्षकहरूको सहभागिता रहेको छ।