काठमाडौं, भदौ ७ :

नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग परराष्ट्रमन्त्री आरजु राणा देउवाले शिष्टाचार भेटवार्ता गरेकी छन्। भेटमा दुई देशबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र बहुपक्षीय सहयोग लगायतका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री राणाले शनिबार होटल सोल्टी पुगेर उपराष्ट्रपति सुआनसँग भेट गरेकी हुन्। भेटका क्रममा उनले भियतनामको तीव्र आर्थिक प्रगतिप्रति बधाई दिँदै यसबाट अन्य विकासशील राष्ट्रहरूले पनि सिक्न सक्ने धारणा व्यक्त गरिन्।

दुवै नेताबीच बौद्ध धर्म, सांस्कृतिक सम्बन्ध, र पर्यटन प्रवर्धनका विषयमा विशेष जोड दिइएको थियो। मन्त्री राणाले पछिल्ला वर्षहरूमा भियतनामबाट नेपाल आउने पर्यटकहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको जानकारी दिँदै, त्यसलाई अझ प्रवर्धन गर्न दुई देशबीच सहकार्य आवश्यक रहेको बताइन्।

भेटमा मन्त्री राणाले भियतनामसँग नेपालका गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (भैरहवा) र पोखरा विमानस्थलमा उडान सुरु गर्ने वातावरण बनाउन आग्रह गरिन्।

त्यसैगरी, उनले नेपाल सन् २०२६ पछि अति कम विकसित राष्ट्रबाट स्तरोन्नतिमा प्रवेश गर्ने तयारीमा रहेकाले त्यसपछिको अवस्था सम्हाल्न आवश्यक सहयोगका लागि भियतनामसँग सहयोगको अनुरोध गरिन्।

मन्त्री राणाले नेपालले मानवअधिकार परिषद (२०२७–२०२९) र आर्थिक तथा सामाजिक परिषद (२०२९–२०३१) का लागि उम्मेदवारी दिएको जानकारी गराउँदै ती पदहरूमा भियतनामको समर्थन माग्दा उपराष्ट्रपति सुआनले नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

भेटमा दक्षिण-दक्षिण सहयोग, जलवायु परिवर्तन, र विकासशील राष्ट्रहरूको साझा हितका विषयमा समेत छलफल गरिएको थियो। नेपाल र भियतनाम जी–७७ तथा असंल्गन आन्दोलनका सदस्य राष्ट्रका हैसियतमा अन्तर्राष्ट्रिय मञ्चहरूमा एक–अर्कालाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै, भविष्यमा पनि संयुक्त धारणा लिएर अघि बढ्नुपर्नेमा दुवै पक्ष सहमत देखिएका थिए।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा तीनदिने नेपाल भ्रमणका लागि उपराष्ट्रपति सुआन शनिबार काठमाडौँ आइपुगेकी हुन्। नेपाल भ्रमणका क्रममा उनी नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सवमा सहभागी हुने कार्यक्रम रहेको छ। साथै उनले केही उच्चस्तरीय भेटवार्ताहरू समेत गर्ने कार्यतालिका रहेको छ।