कञ्चनपुर, भदौ ७ :

सुदूरपश्चिमका पहाडी क्षेत्रमा लगातार वर्षापछि महाकाली नदीमा पानीको बहाब उच्च बनेको छ । नदीमा बहाव बढेपछि शनिबार बिहानदेखि नेपाल-भारत सीमामा रहेको वनबासा पुल हुँदै ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

शारदा ब्यारेज (वनबासा) मा पानीको बहाब शनिबार दिउँसो १ लाख ७० हजार ६०६ क्युसेक मापन गरिएको थियो । साँझ ६:१५ बजेको मापनअनुसार बहाब घटेर १ लाख ३१ हजार ०५८ क्युसेकमा झरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले पहाडी क्षेत्रमा वर्षा केही कम भएपछि पानीको बहाब क्रमशः घटिरहेको जानकारी दिए ।

सुरक्षाका कारण वनबासा पुलमार्फत चारपाङ्ग्रे सवारीसाधनको आवतजावत बन्द गरिएको छ भने दुईपाङ्ग्रे सवारी र पैदलयात्रुहरूको हिँडडुल भने नियमित रहेको प्रहरीले जनाएको छ । प्रहरीले नदी आसपासका क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह पनि गरेको छ ।