
पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले कसैको दबाबमा परेर देशको स्वाधीनतामाथि सम्झौता गर्न नहुने बताएका छन् ।
नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको अवसरमा काठमाडौंमा गरेको कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको आसन्न चीन र भारत भ्रमणमा नेपाली भूमि लिपुलेकमा दुई देशले व्यापार मार्ग खोल्ने गरेको सम्झौतामा स्पष्ट अडान राख्नुपर्ने बताए ।
‘कसैको दबाबमा मुलुकको स्वाधीनतामा सम्झौता गर्न सकिँदैन । चीनले हामीलाई दुःख दिएको छैन । अहिले समस्या दक्षिण र उत्तरकोले हस्ताक्षर गरे, त्यो हस्ताक्षर ०७२ मा गरेको थियो,’ उनले भने, ‘भूकम्पमा थियौं हामी । डिप्लोमेटिक नोट मैले नै पठाएका हो । दुई मुलुकका परराष्ट्रमन्त्रीले हस्ताक्षर गरेका छन् ।’
यो विषयमा प्रधानमन्त्री ओलीको हुन लागेको भारत भ्रमणमा नेपाललाई दबाब आउनसक्ने उनले आकलन पनि गरे । उनले भने, ‘अहिले प्रधानमन्त्रीको भ्रमणमा एउटा एजेन्डा ९८ प्रतिशत सीमाना सीमांकनमा सही गर्ने हुनसक्छ भनेर एउटाले भन्दै थियो, प्रधानमन्त्रीलाई दबाब दिनसक्छ भन्दै थिए ।’