संखुवासभा, भदौ ७ :

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार स्थिर सरकार निर्माण भएकाले प्रतिपक्षी दलहरूलाई अनावश्यक टिकाटिप्पणी गरेर समय खेर नफाली समृद्धिको यात्रामा सहभागी हुन आह्वान गरेका छन् ।

नेपाल प्रेस युनियन संखुवासभाले शनिबार गरेको पत्रकार भेटघाटमा उनले ठुला राजनीतिक दलहरूलाई देश र जनताको हितप्रति जिम्मेवार बन्न आग्रह गर्दै कानुनी अवरोधलाई समयानुकूल परिमार्जन गर्दै सरकार सुशासन, तीव्र विकास निर्माण र आर्थिक उन्नतिका लागि अघि बढिरहेको स्पष्ट पारे ।

उनले झुटा र नकारात्मक प्रचारमार्फत विकास अवरुद्ध गर्ने प्रवृत्तिलाई त्याग्न सबैलाई आग्रह गरे । उनले भने, ‘धमिलो पानीमा माछा मार्ने कामले देशलाई पछि धकेल्छ, त्यसैले ठुला वा साना सबै दल जिम्मेवार बनेर देशलाई समृद्धिको बाटोतर्फ अघि बढाउन आवश्यक छ ।’

उनले योगमाया आयुर्वेद विश्वविद्यालय स्थापना गर्ने सरकारको निर्णयले पहाडी जिल्लामा शैक्षिक विकासको नयाँ सन्देश दिएको उल्लेख गरे । उनले किमाङथांका नाका छिटै सञ्चालनमा ल्याउन सरकार लागिपरेको र अरुण तेस्रो जलविद्युत् आयोजना सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए । उनका अनुसार, १०६३ मेगावाट क्षमताको आयोजना निर्माणको तयारी भइरहेको छ । जुन देशकै ठुलो आयोजनामध्ये एक हो । यसले राष्ट्रिय ऊर्जा उत्पादनमा क्रान्तिकारी योगदान पुर्‍याउनेछ ।