
नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको सहमतिविना चीन र भारतले नेपाली भूमि प्रयोग गर्न खोज्नु अनुचित हुने बताएका छन् ।
घोराहीमा शनिबार प्रेस चौतारी नेपाल दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूमि भएको स्पष्ट उल्लेख गर्दै सहमतिविना प्रयोग गर्ने प्रयत्नलाई अस्वीकार्य बताए ।
उनले भने, ‘दुई छिमेकी राष्ट्रले नेपालको भूमि प्रयोग सन्दर्भमा नेपालकै सहमतिविना लिम्पियाधुरा, लिपुलेक, कालापानी प्रयोग गर्न खोजेका छन् । नेपालले कूटनीतिक नियोगमार्फत असहमति जनाएको छ । नेपालको सहमति र सहभागिताविना गरिने कुनै पनि समझदारी अनुचित हुन्छन् । तथ्य र प्रमाणका आधारमा समस्या समाधान गर्न पहल गर्नुपर्छ ।’
सुगौली सन्धि सन् १८१६ तिरको सिमानै वास्तविक सीमा भएको दाबी गर्दै उनले नेपालले राखेको अडान तथ्य र प्रमाणमा आधारित रहेको बताए ।