
नेपाल पर्यटन बोर्ड र नेपाल आर्ट काउन्सिलले काठमाडौं उपत्यकाका चारवटै महानगरपालिकासँगको सहकार्यमा पहिलोपटक नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल-२०२५ आयोजना गर्ने भएका छन् ।
बोर्डको सभाहलमा आइतबार भएको पत्रकार सम्मेलनमार्फत ‘नेपाल आर्ट एन्ड कल्चर फेस्टिभल’ भदौ २० देखि असोज १० गतेसम्म काठमाडौं, ललितपुर, भक्तपुर र किर्तिपुरमा आयोजना हुने जानकारी गराइएको हो । कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै नेपाल आर्ट काउन्सिलका अध्यक्ष सागरशमशेर राणाले नेपालमा मात्रै नभई विदेशमा समेत यस्ता सांस्कृतिक पर्वहरूले ठूलो महत्व राख्ने भएकाले यसलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन फेस्टिभल आयोजना गर्न लागिएको जानकारी दिए । उनले कार्यक्रमहरुले स्वदेशी तथा विदेशी पर्यटक दुवैलाई आकर्षित गर्ने उद्देश्य राखेको बताए ।
त्यसैगरी नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल प्रायः साहसिक पर्यटनको गन्तव्यका रूपमा चिनिए पनि यो फेस्टिभलमार्फत नेपाललाई सांस्कृतिक वैभव र धरोहरहरूको भण्डारका रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको स्पष्ट पारेका छन् । उनले भने, ‘हाम्रो विशिष्ट संस्कृतिलाई जगेर्ना गर्दै धरोहरहरूको वैभवतालाई संसारभर चिनाउनुपर्छ । यस किसिमको महोत्सवले नेपालमा पर्यटकको संख्या बढाउनुका साथै आर्थिक आम्दानीमा योगदान पुर्याउने विश्वास लिएका छौं ।’
फेस्टिभल सञ्चालन समितिका प्रमुख तथा नेपाल होटेल व्यवसायी संघ (हान) का अध्यक्ष विनायक शाहले नेपाल ‘लाइफटाइम एक्सपेरियन्स’ को लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले भने, ‘नेपाल लाइफ टाइम एक्सपेरियन्स लिने उत्कृष्ट गन्तव्य हो । पर्यटन र जात्रा-महोत्सव जोड्ने हाम्रो प्रयासअन्तर्गत थालिएको यस महोत्सवले एक्सपेरिमेन्टल टुरिजमका लागि योगदान गर्ने हाम्रो विश्वास छ ।’
कार्यक्रम संयोजक आयुषा श्रेष्ठले तीन सातासम्म चल्ने महोत्सवमा ४० वटा कार्यक्रम आयोजना गरिने जानकारी दिइन् । इन्द्रजात्राको अवसरसँगै सुरु हुने यो महोत्सवलाई उपत्यकाका सम्पदा, कला, संस्कृतिको समग्र उत्सवका रूपमा प्रस्तुत गरिने उनले बताइन् । ‘नेपालको शाश्वत कला, संस्कृति, खानपान र सम्पदाको उत्सव’ भन्ने नारासहित सुरु हुने महोत्सवले उपत्यकाका चार पालिकासहित पर्यटनसँग सम्बन्धित संघ-संस्था र सरोकारवालालाई समेटेर महोत्सवमा सांस्कृतिक प्रदर्शनी, कला-कौशल, संगीत-नृत्य, परम्परागत परिकार, तथा जीवित संस्कृति अनुभव गर्ने अवसर प्रदान गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यसरी उपत्यकाका पुराना सहर- काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरलाई उत्सवमय बनाउन सुरु हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।