
गृहमन्त्री रमेश लेखकले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा चुलिँदो राजनीतिक द्वन्द्वप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।
आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले त्रिविमा देखिएको अवस्था सामान्य नभएको स्पष्ट पारे। राजनीतिक हस्तक्षेप र द्वन्द्वका कारण गृह मन्त्रालयलाई समेत हस्तक्षेप गर्नुपर्ने स्थिति आएको उनले बताए।
‘त्रिभुवन विश्वविद्यालयमा नै यस्तो द्वन्द्व छ कि त्यसमा गृहमन्त्रालयले नै प्रवेश गर्नुपरेको छ। प्राध्यापकहरूको सुरक्षाको लागि मैले पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) खटाउनुपरेको छ,’ गृहमन्त्री लेखकले भने।
उनले त्रिविमा प्राध्यापकमाथि हातपात, कार्यालय तोडफोड र तालाबन्दी जस्ता घटनाहरू भइरहेकाले यस्तो निर्णय लिनुपरेको बताए। विश्वविद्यालयमा सक्रिय विभिन्न दलका भ्रातृसंस्थाहरूले यस्ता गतिविधि गर्दै आएको उनले जनाए।
‘अहिले त त्यो शान्तिपूर्ण छ। तर मेरो आग्रह छ, यस्तो अवस्था अन्त्य होस्, र म खटाएको पीएसओ फिर्ता गर्न सकुँ,’ गृहमन्त्री लेखकले भने।
उनले द्वन्द्वको समाधानका लागि सरकार विश्वविद्यालयसँग सहकार्य गर्न तयार रहेको स्पष्ट पारे।
गृहमन्त्रीले शिक्षालाई राजनीतिक दलहरूको प्रतिस्पर्धाको अखडा बनाउन नहुने उल्लेख गर्दै सम्बद्ध पक्षहरूलाई संयमता अपनाउन अपिलसमेत गरेका छन्।