
नेपालमा पछिल्लो समय कलेजोका बिरामीहरुको संख्या बढ्दै गएको देखिन्छ। मानव शरिरको महत्वपूर्ण अङ्ग कलेजोको सुरक्षामा आवश्यक ध्यान नपुराउँदा पछिल्लो समय नेपालीहरुमा कलेजोको समस्या बढ्दै गएको देखिन्छ ।
यस सन्दर्भमा सक्रिय समाचारको जिज्ञासामा काठमाडौं मेडिकल कलेजका पेट, कलेजो तथा कलेजो प्रत्यारोपण विषेशज्ञ डिएम, डा. सागर पौडेलले कलेजेको समस्या बढ्नुका कारण, उपचार पद्धती र ध्यान दिनुपर्ने कुराहरुबारे जानकारी दिएका छन् ।
पछिल्लो समय कलेजो(लिभर)को समस्या अत्यधीक देखिने गरेको छ नि? यो कस्तो समस्या हो ?
मानव शरिरमा कलेजो (लिभर) भनेको एकदम महत्वपूर्ण अर्थात अभिन्न अंग हो। मानिसमा धेरै जसो पाचन प्रणालीका कामहरू लिभरबाटै हुन्छ। कार्बोहाइड्रेट, प्रोटीन, साथ डाइजेशन हुन्छ, अरु औषधि डाइजेशन हुन्छ। विभिन्न खानेकुराहरूको पाचन गर्ने क्रिया चाहि लिभर बाटै हुन्छ, लिभरका रोगहरूको मुख्य कारण दुई तीन वटा कारणहरू छ।
एउटा बढी तौल मोटोपना अर्थात ओभर वेट अथवा ओबेसिटी पनि भनिन्छ। त्यो हुँदा कलेजोमा बोसो जमेर यो समस्या देखिन्छ। दोस्रो क्रोनिक हेपेटाइटिस बी र क्रोनिक हेपेटाइटिस सी हुन्छ। हेपेटाइटिसका बिरामीहरूमा जस्तै हेपेटाइटिस बी अथवा हेपेटाइटिस सी बिरामीहरूमा लिभरको समस्या बढ्दै गएर लिभर बिग्रिन सक्छ।
तेस्रो कुरा हरुमा तपाईंको डाइबेटिक्सका बिरामीहरू, अनि हाइपर कोलेस्टेरोलेमिया भन्छ कोलेस्टेरोल अत्याधिक हुने र बिरामीहरू अथवा अरु औषधिको प्रयोग गर्ने बिरामीहरू जस्तै बारम्बार पेनकिलर खानु पर्ने, अरु रोगको कारणले आयुर्वेदिक औषधि हरु बढी प्रयोग गर्ने बिरामीहरूमा लिभरको बढी समस्या हुने देखिन्छ।
लिभरमा समस्या आउनुको कारण के लाई मान्ने त त्यसो भए ?
अब पहिलो त रक्सी धेरै सेवन गर्ने मानिसहरुको कलेजो बढि बिग्रेको देखिन्छ। तर, रक्सी खाएको तुरुन्तै एक महिना, दुई महिना, एक वर्ष, दुई वर्षमा बिग्रेको त्यसको लक्षणहरू देखिँदैन। आठ, दश वर्षपछि प्रायः कलेजो बिग्रेको लक्षणहरू देखिन थाल्छ। र ७०/८० प्रतिशतजति कलेजो बिग्रिसकेपछि यसको लक्षणहरू बल्ल आउन थाल्छन। रक्सि खानेको हकमा।
अर्को हेपेटाइटिसको विषयमा कुरा गर्दा खेरी एक्युट हेपेटाइटिस भनिन्छ र क्रोनिक हेपेटाइटिस भनिन्छ। एक्युट भनेको दूषित खानेकुराहरू, खानपिनमा ध्यान नदिनु, सरसफाइमा ध्यान नदिनु, फोहोर पानिले सफा गरेको फलफुल, तरकारीहरू सेवन गर्दा हेपाटाइटिस सम्बन्धी किटाणुले कलेजोमा आक्रमण गर्छ, त्यसलाई एक्युट हेपाटाइटिस भनिन्छ। त्यस्ता बिरामी हरूलाई चाहिँ तुरुन्तै लक्षण देखिन्छन् ।
यसका लक्षणहरु केके हुन् ?
यसका लक्षणहरु भनेको शरिर अत्याधिक गल्ने, थकाई बढी लाग्ने, खान मन नलाग्ने, वाकवाकी लाग्ने अनि आँखा पहेँलो पहेँलो हुदै जाने, छालाहरू पनि पहेँलो हुने, अलि रोग बढ्दै गएपछि छालाहरू कालो हुदै जाने, पेट सुनिने, दुख्ने यस्ता खालका लक्षणहरु देखिनछन् ।
त्यस्तै जोर्नि तथा मांशपेसीहरू दुख्ने, सुक्ने, पेट फुल्ने, खुट्टाहरू सुनिन थाल्ने, गिजाहरूबाट रगत आउन थाल्ने, अझ अत्याधिक नै भयो भने रगत नै वान्ता हुने, यस्ता खालका लक्षणहरू लिभरको समस्या आउँदा देखिन्छन्।
लिभरको समस्या भएका बिरामीको उपचार कतिको सहज छ ? निको हुने क्रम कत्तिको छ ?
अब लक्षण देखिएन भने नियमित चेकअप गर्ने हाम्रो चलन छैन। त्यो मुख्य समस्या छ। यदि लक्षण चाडै देखियो भने उपचार प्रणाली सहज छ, औषधीले नै काम गर्छ, आँफुले सरसफाईदेखी खानपानमा ध्यान दिँदा चाँडै निको पनि हुन्छ। तर धेरै ढिला अर्थात कलेजो बिग्रिसकेपछि जुन क्रोनिक सिम्टम्स भनिन्छ, त्यो सिरोसिस भैसकेपछि यसलाई उपचार अलि फरक तरिकाले गर्नुपर्ने हुन्छ। कुन प्रकृतिको सिरोसिस छ त्यो अनुसारको उपचार हुन्छ।
अब अल्कोहलको कारणले गर्दा लिभर ड्यामेज अर्थात बिग्रिसकेको छ भने त यो निको ह’न समय लाग्छ । अर्को कुरा हेपाटाईटिस बी सी भन्ने जुन रगतबाट यौन सम्पर्कबाट सर्ने हेपाटाईटिस छन्। ती कारणले हेपेटिटिस भएको छ भने त्यसको उपचार पद्धती छुट्टै हुन्छ। इसको पनि सुरुवाति चरण भए औषधीले ठिक हुन्छ । यदी बिरामी जटिल छ, अत्यधिक पेट फुल्न थाल्यो, जन्डिस धेरै देखिन थाल्यो, बिरामीलाई वान्ता, रगतको उल्टी हुन थाल्यो, बेहोस बेसुर हुनु थाल्यो भने त्यसै उनीहरूको उपचार भनेको कलेजो प्रत्यारोपण बाहेक अरु विकल्प खासै हुदैन।
कलेजो प्रत्यारोपणपछि बिरामी पूर्ववत् अवस्थामा फर्किने सम्भावना कस्तो छ?
यो लिभर ट्रान्सप्लान्टेशन सक्सेस रेट अर्थात हालसम्मको नतिजा हेर्दा विश्वभर नै ९५ प्रतिशत सफल भएको देखिन्छ। त्यो भनेको अन्य रोगको अपरेशन गर्दा जस्तै नै केही निश्चीत समयमै पुरानै अवस्थामा विरामी फर्किएको देखिन्छ।
कलेजोको समस्या भएका बिरामीले कुनकुन कुरामा ध्यान दिन जरुरी छ ?
पहिलो कुरा त पोषक तत्त्व भएका हेल्दी खानेकुराहरू खाने, हाम्रो घरको खानेकुरा, नेपाली खाना अहिले एकदम हेल्दी मानिन्छ। दाल भात, तरकारी, फलफुल बढी प्रयोग गर्ने । जंक फुडहरू र बाहिर बनेका मैदाका परिकारहरु नखाने, दोस्रो कुरा, नियमित व्यायाम गर्ने, त्यो भनेको शरीरमा वजन बढ्न नदिने। त्यो गर्दा फेरी लिभरमा बोसो जम्ने प्रक्रिया रोक्न सकिन्छ।
अर्को कुरा,नियमित जाँचहरू गरिरहने, कम्तिमा बर्षमा एकदुई पटक सबै जाँच हरु गर्ने, सामान्य ब्लड जाँच गर्दा लिभरको पनि जाँच गराउने, कलेजोको अवस्था कस्तो छ? बोसो जम्या छ कि छैन? चेक गराउने, व्यायाम हरु गर्ने गर्दा कलेजोलाई स्वस्थ बनाउन सकिन्छ।
अर्को कुरा कलेजोको रोग लागिसकेको छ भने, रक्सि पिउनेहरुले यसलाई बन्द नै गर्नुपर्ने हुन्छ। नियमित चिकित्सकको परामर्शमा रहने, चेकजाँच गराईरहने गर्नुपर्छ। यदि कलेजोलाई उपचार गरेर सम्भव अवस्था छ भने लिभर ट्रान्सप्लान्टेशन सबैभन्दा उत्तम विकल्प हुन्छ। समग्रमा त सुरुमा आफैले नै ख्याल गर्नुपर्यो। मोटो हुनबाट बच्नुपर्यो। स्वस्थ खानेकुरा खाने, नियमित व्यायाम गर्ने, गरियो भने लिभरजस्ता अन्य धेरै रोगहरुबाट पनि बच्न सकिन्छ।